सोमबार महिला आयोगको भवन अगाडि महिलाको एक समूह बलात्कार अपराधमा हदम्यादको कानुन संशोधन गर्न माग गर्दै महिला आयोग पुगे।
हातमा प्लेकार्ड बोकेर नारा लगाउनेको भीडमा सेतै कपाल फुलेकी इन्दिरा सापकोटा थिइन्। एकदमै गम्भीर मुद्रामा उभिएकी उनले बोकेको प्लेकार्डमा लेखिएको थियो, ‘बलात्कार जस्तो जघन्य अपराधमा उजुरी दिने हद म्यादको कानुन संशोधन गरियोस्।’
हिँड्दा लौरोको सहारा, एकैछिन बोल्दा तातोपानी चाहिने स्वास्थ्य अनि एकछिन उभिएपछि बस्ने चकटी खोज्ने शरीरका साथ उनले महिला आयोगका पदाधिकारीसमक्ष आफ्ना माग राखिन्, ‘अहिले यौन शोषण गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका मनोज पाण्डे केही समयपछि धरौटीमा छुट्ने छन्। उनी बाहिर आएपछि सुरक्षा कसरी भयो? उनी धरौटीमा छुट्न भएन, त्यसमा महिला आयोगले के गर्छ ?’
सापकोटाका अनुसार उनी व्यवसायी हुन्। अहिले पनि दिउँसो काम गर्छिन् र साँझ टेलिभिजनमा देशमा के भइरहेको छ, हेर्छिन्। एक साँझ टेलिभिजनमा ‘मिस ग्लोबल इन्टरनेशनल’ प्याजेन्टकी सहभागीले आफू मनोज पाण्डेबाट पटकपटक बलात्कार भएको घटना सार्वजनिक गरेकोबारे थाहा पाइन्। त्यसपछि उनी दिनदिनै सडकमा उर्लिएको भिडलाई पनि नियाल्न थालिन्।
‘सडकमा नाराबाजी गरेरमात्र हुँदैन, संस्थागत र प्रक्रियागत रुपमा नै अगाडि बढ्नुपर्छ,’ उनले भनिन्, ‘समृद्धि नेपालकी निर्देशक संगीता श्रेष्ठसँग मेरो चिनजान थियो, उहाँले यस्तो कार्यक्रम गर्दै हुनुहुन्छ भन्ने थाहा पाएर म पनि आएँ।’
‘पाको मान्छेले बोल्यो भने अर्कै हुन्छ नि त ! उमेर धेरै भएपनि म ज्यानले सक्ने गर्छु, म यो राष्टको नागरिक हुँ, म पनि नारी हुँ, नारीका पीडा हाम्रा पीडा हो,’ उनले आरोपी मनोज पाण्डेप्रति आक्रोश पनि पोखिन्, ‘आजीवन कारागार गर्ने भनिएको छ, त्यसमा त धरौटीमा छुट्ने संभावना हुन्छ। पैसाले त यहाँ जे पनि गर्ने गर्छन्। हाम्रो सरकारले मृत्युदण्डको कानुनलाई मान्ने गरेको छैन। कानुन हुन्थ्यो भने पीडितकै अगाडि सजाय दिनुहुन्थ्यो।’
उनले पनि धेरै महिलाहरुले जस्तै बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने कानुनको मागलाई समर्थन गरिन्। ८५ वर्षकी इन्दिराले महिलामाथि हुने जघन्य अपराध पहिला पनि हुने बताइन्। उनले अहिलेको समयमा त नारी हच्किन्छन् भने पहिला बोल्ने हिम्मत पनि नराख्ने बताइन्।
‘त्यो बेलामा समाजबाट बहिस्कृत गरिन्थ्यो, मुख हेरिँदैन थियो। उनीहरु बोल्ने हिम्मत राख्दैनथे,’ उनले भनिन्, ‘अहिले आयोग आउँदा पनि महिलालाई यस्तो डर छ, पहिला त छोरी ८ वर्षको हुँदादेखि नै सुरक्षा दिन्थ्यो, १२, १३ वर्ष हुँदा बाहिर जान दिँइदैन थियो। हाम्रो समयमा धेरे डर थियो।’
उनले आफूलाई पनि पीडित युवतीको पीडाले आफूलाई पनि घोच्ने गरेको बताइन्। ‘अपराधीले हदैको सजाय पाउनुपर्छ र पीडितले न्याय। देशमा यस्ता धेरै छन्। जसलाई हामीले साथ दिनुपर्छ,’ उनले भनिन्, ‘महिला आन्दोलनमा म पछाडिबाट सहयोग गर्थेँ, अगाडि आएर बोलेको यो पहिलो पल्ट हो।’