बालेनले कसरी बनाए काठमाडौँबासीको मनमा ठाउँ?

बालेनले कसरी बनाए काठमाडौँबासीको मनमा ठाउँ?
+
-

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयरमा बालेन शाहको जित पक्का भएको छ। उनले काठमाडौँमा बलियो पकड भएको नेकपा एमालेका उम्मेदवार र सत्ता गठबन्धनका साथ काठमाडौँको मेयर पदमा उठेको नेपाली कांग्रेसकी उम्मेदवारलाई भारी मत अन्तरले पछाडि पारेका छन्।

बालेनको पृष्ठभूमि राजनीतिक होइन। पेशाले स्ट्रक्चरल इन्जिनियर र र्‍यापरका रुपमा पहिचान बनाएका बालेन महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिँदा उनलाई नपत्याउनेको जमात ठूलो थियो।

महानगरको उम्मेदवारमा आउने घोषणा उनले साढे २ वर्ष अगाडि नै गरेका थिए। तर त्यो बेलामा उनको घोषणालाई कसैले पत्याएनन्। स्थानीय चुनावको माहोल तातेपछि बालेनले फेरि घोषणा गरे, तबमात्र उनलाई तुलनात्मक रुपमा गम्भीर भएको मानियो।

तर विचार मन्थनको थलो सामाजिक सञ्जालमा उडाउनेको समूह सक्रिय भयो।

पूर्वतयारीका साथ चुनावी मैदानमा आएका बालेनलाई चुनावको अन्तिम मितिसम्म पनि नजित्ने अनुमान गरिएको थियो तर जब मत गणना शुरु भयो तब उनको हारको आँकलन गर्नेहरु आश्चर्यमा पर्न थाले। बालेनले काठमाडौँका अधिकांश वडामा ठूला पार्टीका दुई उम्मेदवारको तुलनामा धेरै मत ल्याए। कतिपय वडामा उनले दुई गुणासम्म बढी मत प्राप्त गरे।

देशसञ्चारसँग केही अगाडि भएको कुराकानीका क्रममा बालेनले स्थानीय तहको निर्वाचन २०७४ मा सकिनेबित्तिकै आफू अर्को चुनावको तयारीमा लागेको बताएका थिए। स्थानीय तहको निर्वाचनको मिति तय भएपछि उनले सक्रिय रुपमा आफ्नो प्रचार गरे । चुनावको मिति नजिकिँदा लोकप्रिय बन्दै गएका बालेनले लोकप्रियता सामाजिक सञ्जालमा सीमित हुने आँकलन गरिएको थियो ।

तर काठमाडौँले परिवर्तन खोजेका रहेछन्, त्यसैले बालेनले जिते ।

पछिल्लो पाँच वर्षमा राजनीतिक पार्टीका तर्फबाट चुनिएका मेयरदेखि वाक्क भएका काठमाडौँबासीले यो पल्ट पार्टीलाई बहिष्कार नै गरिदिए। काठमाडौँ सत्तापक्षसँग दिक्क भएको यो पहिलो पल्ट होइन।

२०३८ सालमा काठमाडौँको नगर पञ्चायत प्रमुखमा नानिमैयाँ दाहाललाई यसरी नै काठमाडौँले जिताएको थियो। पञ्चायती कालको अफ्ठेरो समयमा नानीमैँयाले जित्नुलाई ‘चमत्कार’ भनिएको थियो।

बालेनको जितलाई पनि अहिले चमत्कारको नाम दिइएको छ। किनभने दुई शक्तिशाली पार्टीका उम्मेदवारलाई उनले अनुमान नै नगरिएको भारी मतले पराजित गरिदिए। अहिले उनलाई देशैभरिबाट शुभकामना आइरहेको छ।

बालेनको यत्तिको नाम सजिलै भने भएन। मेयरको पद जित्न प्रचारको लागि हिँड्दै गर्दा आइपरेका परिस्थितिले उनले देशभरका नागरिकको मन पनि जिते । चुनाव अगाडि आफ्नो छवि उकास्न कतिपय अवस्थामा बालेन आफैँ लागे, कतिमा उनका प्रतिस्पर्धीको हात रह्यो।

बालेनको चुनाव अवधिमा बालेनलाई स्मरण गराउने घटनाहरु यस्ता छन्,

१. काठमाडौँमा जन्मिएका बालेनले काठमाडौँको मेयरमा उम्मेदवारी दिनु पूर्व काठमाडौँको अध्ययन गरेका छन्। चुनावमा आउन उनको ५ वर्षको पूर्व तयारी थियो। उनले काठमाडौँको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र संस्कृति, कला धर्म परम्पराका बारेमा, पर्यटन, व्यवसाय लगायतका विषयमा टोली नै बनाएर अध्ययन गरेका छन्। देश सञ्चारसँगको अन्तर्वार्तामा उनले भनेका थिए, ‘मेयर पदमा बस्ने व्यक्तिले आफ्नो क्षेत्रमा हुने विकास निर्माणका हरेक क्रियाकलापको ‘टर्मिनोलोजी’ जानेको हुनुपर्छ।’

२. उनले सार्वजनिक गरेको चुनावी घोषणापत्र सरल किसिमको छ। ८ पेज लामो घोषणा पत्रमा बालेनले २८ बुँदामा आफ्ना योजनाहरु समेटेका छन्। ‘काठमाडौँ महानगरमा नयाँ विकास निर्माण भन्दा पनि भएको संरचनाको व्यवस्थापन ठूलो कुरा हो,’ बालेनले चुनावी प्रचारको समयमा भनेका थिए।  उनले घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकिङसम्मका योजना अघि सारेका थिए। साथै व्यक्तिगत घटना दर्ता, वृद्ध भत्ता वितरण घरघरमै पुगेर गर्ने प्रतिवद्धता जनाएका थिए।

३. बालेनले चुनावमा होमिने निर्णय गरेपछि सम्पूर्ण युवाशक्तिमाझ आफूलाई परिचित गराए। उनले काठमाडौँका धेरै जसो कलेज, क्याम्पसमा गएर युवाहरुलाई भेटे । यसले उनलाई युवाहरुमाझ उनका भिजन राम्ररी राख्ने मौका मिल्यो। र्‍यापरको छवि त पहिला नै छँदैथियो। सेलीब्रेटीजस्तो मान्छेले सबैसँग हात मिलाउँदै, अंकमाल गरेर आत्मीयता बाँडेपछि युवाहरुमाझ राम्रो छाप छोड्न उनी सफल भए। चुनावअघि देशसञ्चारसँगको कुराकानीमा बालेनले भनेका थिए, ‘युवाहरुमा राजनीतिमाथि वितृष्णा भएको रहेछ। मलाई उहाँले विश्वास गर्नुहुन्छ, किनभने म पेशाले गर्दा आत्मनिर्भर छु। मेयर हुनुमा मेरो आर्थिक स्वार्थ हुँदैन। मैले मेरो ज्ञान यहाँ लागू गरेर काठमाडौँ व्यवस्थापन गर्ने हो। हामीले कुरा गरेपछि तपाईलाई साथ दिन्छु भन्नु भएको छ।’ उनको अभिव्यक्ति प्रभाव समाजिक सञ्जालमा देखियो। युवाहरुको लोकप्रियताको केन्द्र बन्दै अगाडि बढे। उनले युवा जमात सहभागी हुने कुनै पनि कार्यक्रम छोडेनन्। बालेन विदेशमा बस्ने नेपालीको आँखामा पनि छाए। चुनावी माहोल तातेको बेला बिदेशमा बस्ने छोराछोरीले पनि बालेनलाई भोट दिन आग्रह गरेका भन्ने हल्ला भए।  पार्टीका कार्यकर्ता र वयस्क समुदायले बालेनलाई चर्चावादी कामको संज्ञा दिइरहेका बेला बालेन नागरिकको मन पस्न थालिसकेका थिए।

४. यता बालेनले नगरभित्रका नागरिकको मन जित्ने अर्को युक्ति लगाए। काठमाडौँको कोर क्षेत्र नेवार बस्तीले भरिएको छ। बालेन आधुनिक सोचका युवा भएपनि नेवारी संस्कार र परम्पराको महत्वका विषयलाई प्रश्रय दिए।  नेवारी खानाको संरचना वैज्ञानिक भएको, नेपालका मौलिक घर बनाउने विज्ञानदेखि नेवारी सांस्कृतिक मूल्य मान्यतालाई उनले महत्व दिए। उनी पछिल्लो समय काठमाडौँ महानगरपालिका मात्र नभएर उपत्यका तीनओटै जिल्लामा हुने जात्रामा सहभागी भए। उनको यो कदमले नेवार समुदायको मनमा अलिकति भएपनि ठाउँ बन्यो।

५. बालेनको पक्षमा केही मत नेकपा एमालेका काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले पनि थपिदिए। उनले चुनावमा उम्मेदवारी दर्ता गर्न जाँदाको समयदेखि मौन अवधि लागू हुने समयसम्म एक पछि अर्को विवादास्पद अभिव्यक्ति दिए। स्थापितले यौन हिंसा र मानसिक स्वास्थ्यको बारेमा गरेको भद्दा टिप्पणीले उनको मत घटायो। स्थापितले बालेनको बारेमा पनि क्षेत्रीय विभेदपूर्ण अभिव्यक्ति दिए। बालेनले उग्र भएर स्थापितलाई जवाफ फर्काएनन्।

यस्तै नेकपा एमालेको तर्फबाट उपमेयर उम्मेदवार सुनिता डंगोलले बालेनलाई होच्याएर महानगरले बनाएको स्टेजमा गीत गाउन बोलाउने अभिव्यक्ति दिँदा पनि बालेनले संयम भएर ‘मेयरले गीत गाउने, उपमेयरले नाच्ने गर्दा राम्रै देखिन्छ’ भन्ने जवाफ दिए।

बालेनको चुनावी घरदैलो कार्यक्रम अझ धेरै चर्चामा रह्यो। उनले देखाएको सरल स्वाभाव र शिष्टाचार सामाजिक सञ्जालमा भाइरलदेखि समाचारका शीर्षक बने। अहिले पनि स्थानीय नागरिकसँग हात मिलाएको, अंकमाल गरेको तस्बिर भेट्न सकिन्छ। उनले काठमाडौँ बासीलाई ‘म तपाईकै मान्छे हो’ भन्न राम्ररी जाने। चुनावको दिन पनि उनी काठमाडौँका सबै मतदान स्थलमा पुगे।

सामाजिक सञ्जालको शक्ति
बालेनको जीतमा सामाजिक सञ्जालको पनि ठूलो भूमिका रहेको छ। बालेनलाई नेपालका धेरै फलोअर्स भएका सामाजिक सञ्जालका ग्रुपले सहयोग गरेका थिए। अहिलेसम्म बालेनलाई सहयोग गर्न हिँड्नेमा कलाकारिता क्षेत्रमा आवद्ध रहेका कुमार बेन, धादिङ धुनीबेसी गाउँपालिका – २ मा स्वतन्त्र उम्मेदवार उठेका रविन भारती, रुटिन अफ नेपाल बन्दका भिक्टर पौडेल र ब्लगर तथा वातावरण विज्ञ गणेश कार्की हुन्। तर बालेनको समूहमा अन्य धेरै व्यक्तिहरु आवद्ध छन् जसले आफ्नो परिचय खुलाएको छैन।

बालेनको छोटो परिचय
बालेनको वास्तविक नाम बालेन्द्र शाह हो। उनी काठमाडौँको नरदेवीमा जन्मिएका हुन्। अहिले उनी तीनकुनेमा बस्दै आएका छन्। उनका पिता राम नारायण साह आयुर्वेदिक डाक्टर हुन्। उनकी आमा ध्रुवदेवी साह हुन् । उनकी श्रीमती सबिना काफ्ले हुन्।

उनले काठमाडौँको भिएस निकेतनबाट प्लस टु अध्ययन गरेका हुन्। उनले हिमालयन ह्वाइट हाउस कलेजबाट स्नातकमा इन्जिनियरिङ गरेका छन्। भारतको एक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका बालेनले नेपालका विभिन्न जिल्लामा गएर विकास निर्माणको काम गरिसकेका छन्। उनले र्‍याप संगीतमा एक दशकभन्दा धेरै समय बिताएका छन्। उनको पहिलो र्‍याप ‘सडक बालक’ हो।

अब उनको थपिएको नयाँ परिचय ‘काठमाडौँ महानगरपालिकाको मेयर’ हो ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?