
काठमाडौँ- पछिल्लो समय नेपालमा दिनप्रतिदिन बलात्कारका घटनाहरु सार्वजनिक भइरहेका छन्।
केही दिनअघि एक युवतीले ब्यूटी प्याटेन्टको सक्सेस पार्टीको क्रममा आफूलाई पेय पदार्थमा नशालु कुरा मिसाई खुवाएर बेहोस बनाई आयोजकले नै बलात्कार गरेको दाबी गर्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरिन्। उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै दैनिक २/३ वटा भन्दा धेरै बलात्कारका घटनाहरु बाहिर आइरहेका छन्।
आफूमाथि आठ वर्षअघि भएको बलात्कारबारे युवतीले हिम्मत जुटाएर बोलेकी हुन्। उनको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सो घटना चर्चाको विषय बन्यो। नेपालको कानुन अनुसार करणी भएको एक वर्षभित्र उजुरी दिएमा कानुन अनुसार थप अनुसन्धान भई आरोपितलाई सजाय हुने व्यवस्था छ। बालिकाको हकमा हदम्यादको अर्को व्यवस्था पनि बालबालिका सम्बन्धी ऐनले गरेको छ। उक्त ऐनले बालिकाको उमेर पुगेको एक वर्ष अर्थात् १९ वर्ष ननाघुन्जेल पनि उजुरी दिन पाउँछन्। तर ती युवतीको हकमा यो हदम्याद पनि कटिसकेको छ। हदम्यादकै कारण पीडित महिलाले न्याय नपाउने अवस्था देखिएपछि कानुन संशोधन गरेर भए पनि महिलालाई न्याय दिनुपर्ने आवाज धेरैले उठाइरहेका छन्।
उक्त घटनासँग जोडिएको ब्यूटी प्याजेन्ट आयोजक तथा कन्सल्टेन्सी सञ्चालक समेत रहेका मनोज पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। यसअघिमा विभिन्न नजिरहरुलाई ध्यनमा राख्दै प्रहरीले पाण्डेलाई नियन्त्रणमा लिएको हो। प्रहरीले अदालतबाट उनलाई एक साता हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति लिइसकेको छ।
ती युवतीले आफूमाथि भएको घटनाबारे आठ वर्षपछि सार्वजनिक गरेसँगै इटहरीकी अर्की युवतीले पनि आफू अध्ययनरत रहेको विद्यालयका प्रिन्सिपलले नै लगातार दुई वर्षसम्म आफूमाथि बलात्कार गरेको दाबी गर्दै सामाजिक सञ्जाल मार्फत घटना सार्वजनिक गरेकी थिइन्।
यी घटनाहरु बाहिर आएसँगै सामाजिक सञ्जालमा अन्य थुप्रै यस्तै घटनाहरु सार्वजनिक भइरहेका छन्।
पछिल्लो ९ महिनाको अवस्था कस्तो छ?
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७८/७९ को साउन महिनायता मात्रै महिला तथा बालबालिकाविरुद्ध भएका अपराधका १५ हजार ४ सय ५९ घटना दर्ता भएका छन्।
नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीका अनुसार जबर्जस्ती करणीका १ हजार ६ सय ७७ घटना दर्ता भएका छन्। प्रदेश १ मा जबर्जस्ती करणीका सबैभन्दा धेरै घटना दर्ता भएका छन् भने उपत्यकामा मात्र २ सय २८ घटना दर्ता भएका छन्।
त्यस्तै जबर्जस्ती करणी उद्योगमा ४ सय ९० घटनाहरु दर्ता भएका छन्। जबर्जस्ती करणी उद्योगका घटना सबैभन्दा धेरै प्रदेश १ मा नै छन्।
त्यस्तै अप्राकृतिक मैथुनका २२ वटा घटना दर्ता भएका छन् भने बालयौन दुराचारका २ सय घटना दर्ता भएका छन्।
कुन प्रदेशमा कति?
आर्थिक वर्ष २०७८/७९ को साउन महिनादेखि चैतसम्मको तथ्याङ्क हेर्ने हो भने महिला तथा बालबालिकाविरुद्ध भएका अपराधहरुको घटनाहरु प्रदेश २ मा सबैभन्दा धेरै रहेका छन्। प्रदेश २ मा मात्रै ३ हजार ७ सय ६१ घटनाहरु दर्ता भएका छन्। त्यस्तै सबैभन्दा कम प्रदेश ७ मा भएको छ। त्यहाँ १ हजार २ सय ५५ वटा घटना दर्ता भएका छन्। काठमाडौं उपत्यकामा मात्रै सो अवधिमा २ हजार ७ सय ११ वटा घटना दर्ता भएका छन्।
प्रदेश १ मा सो अवधिमा १ हजार ६ सय ७७ वटा जबर्जस्ती करणीका घटना दर्ता भएकोमा प्रदेश १ मा मात्रै ३ सय ४९ वटा घटना दर्ता भएका छन्।
त्यस्तै जबर्जस्ती करणी उद्योगका घटना पनि प्रदेश १ मा नै धेरै देखिएको छ। सो अवधिमा जबर्जस्ती करणी उद्योगका ४ सय ९० वटा घटना भएको मा प्रदेश १ मा मात्रै २ सय २ वटा घटना दर्ता भएका छन्।
बालयौन दुराचारका घट्नामा पनि प्रदेश १ नै सबैभन्दा अघि देखिन्छ। साउनदेखि चैतसम्ममा बालयौन दुराचारका २ सय घटना दर्ता भएका छन्। यसमध्ये प्रदेश १ मा सबैभन्दा धेरै ५८ वटा घटना दर्ता भएका छन्।
नेपाल प्रहरीका प्रवक्ता विष्णु केसी पछिल्लो समय एकपछि अर्को घटना सार्वजनिक हुनुमा महिलाहरु स्वयम् सजग हुँदै गएको एउटा मुख्य कारण बताउँछन्।
उनी भन्छन्, ‘एकजनाले आफूमाथि भएको घटनाबारे बोलेपछि अन्य महिलाहरुलाई पनि ‘ए मैले मेरो न्यायका लागि बोल्नु पर्ने रहेछ’ भन्ने आत्मबल बढेकै कारणले हुनुपर्छ एउटा घट्ना सार्वजनिक भएसँगै अन्य धेरै घटनाहरु एकसाथ बाहिर आउँछन्।’
पितृसत्तात्मक हाम्रो समाजमा महिलाहरु आफूमाथि भएको घटनाबारे खुलेर बाहिर बोल्न नसकेकै कारण आजपनि धेरै महिलाहरु हिंसाबाट बाहिर आउन नसकेको अधिकारकर्मीहरुको भनाइ छ।