
काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता ओलीको अभिव्यक्तिमाथि सवाल जवाफ हुँदा अवरोध भएको संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक खुलाउने प्रयास भइरहेको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा कार्यव्यवस्था परामर्स समितिको बैठकमा सदन खुलाउनेबारे छलफल भइरहेको छ । शुक्रबारको बैठकमा विवाद भएपछि १५ मिनेटको लागि भनेर स्थगित गरिएको संसद एक घण्टा बित्दासमेत सुरु हुन सकेको छैन ।
सभामुख अग्निप्रसाद सापकोटा र सदनमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकहरु सहभागी कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद अवरोध हटाउने प्रयास भइरहेको संसद सचिवालयले जनाएको छ ।
पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा बिहीबारको बैठकमा टिप्पणीमा जवाफ दिने क्रममा उद्योग वाणिज्यमन्त्री दिलेन्द्रप्रसाद बडूले आलोचनात्मक टिप्पणी गरेपछि एमालेका सांसदहरूले बैठकमा अवरोध गरेका हुन् ।
बडूले सम्बोधन गरिरहँदा एमाले सांसद्हरुले नियमापत्ति गरेका थिए ।
जनताको हितमा गरिने हरेक काममा कमिशन मात्र देख्ने दुर्नियत देख्दा साउनको महिनामा दृष्टि गुमाएको गोरुले सँधै हरियो मात्रै देख्छ भन्ने उखानलाई स्मरण गराउँछु भन्दै मन्त्री दिलेन्द्र बडूले टिप्पणी गरेपछि एमाले सांसदले विरोध गरेका हुन् ।
ओलीले आयल निगम सरकारले निजी क्षेत्रलाई बेच्न लागेको भन्ने कुराको जवाफ दिन रोष्ट्रममा आएका मन्त्री बडूले ओलीलाई लक्षित गर्दै भने, ‘आफू प्रधानमन्त्री हुँदा कमिशननै कमिशनको चास्नीमा रमाइरहेको अवस्थामा सत्ता गुमाउन पुगेकाले कमिशन बाहेक के नै देख्न सक्छ र सोच्न सक्छ’ भनेपछि एमालेका सांसदले विरोध जनाएका थिए ।
त्यसपछि सभामुख सापकोटाले मन्त्रीलाई बोल्न रोष्ट्रममा बोलाएपछि पनि मन्त्री बडू झन् आक्रोशित बनेका थिए। उनले रोष्ट्रमबाटै ओलीको आरोप झुठा आधारहीन आरोप भएको बताए।
हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले निती तथा कार्यक्रममाथि टिप्पणी गर्दै सरकारले आयल निगमलाई कमिशन खाएर निजी क्षेत्रलाई दिन लागेको भनेर आरोप लगाएका थिए। एमाले सांसदको अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।
तर एक घन्टा बित्दा पनि बैठक पुन सुरु हुन सकेको छैन ।