
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन्।
शनिबार प्रतिनिधि सभाको बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘उहाँले अस्ति भन्नुभयो वैशाखी टेकेर हिँड्नेमा हामी छैनौँ। मलाई नमिठो र अनौठो लाग्यो। म उहाँकै अगाडि थिए आँखा जुधाएर बसेको थिए। कम्तिमा मेरो अगाडी नभनेको भए हुने थियो।’
उनले भने, ‘जसको सहयोगमा उहाँ दुइपटक प्रधानमन्त्री हुनुभयो ‘यो वैशाखी हो कि सहयोग हो? अहिले उहाँ एमालेको अध्यक्ष हुनुहुन्छ, त्यतिबेला उहाँले पटक-पटक एमालेको सरकार बनाउन खोज्नु भएको थियो। त्यतिबेलाको सरकार एमालेको सरकार होइन नेकपाको सरकार थियो।’
२०७४ को सङ्घीय संसद्को निर्वाचनमा माओवादीले बोकेकै कारण एमाले ठूलो दल भएको र नेकपाको तर्फबाट ओली प्रधानमन्त्री भएको बताउँदै उनले भने ‘उहाँकै भाषामा हाम्रो वैशाखी टेकेर दुईपटक प्रधानमन्त्री बन्नु भयो अब एमालेबाट मात्र बनेर देखाउनुहोस्।’
यस्तै, उनले पाँच दलीय गठबन्धन कमजोर भए वा टुटेको अवस्थामा अझै पनि देश दुर्घटनामा जाने बताएका छन्।
गठबन्धन संविधान बचाउन, लोकतन्त्र बचाउन र गणतन्त्रलाई बचाउन बनेको बताए।
हाल कांग्रेस नेतृत्वमा पाँच दलीय र एमाले नेतृत्वमा नौँ दलीय अर्को गठबन्धन रहेको प्रचण्डको भनाइ छ।