
काठमाडौँ – तारा एयरको नाइन एन-एइटी-डिएचसी-६ ट्विनअट्टर विमान फेला परेपछि १४ हजार ५ सय फिटमा रहेको उक्त स्थलमा करिब ६० जनाको उद्दार टोलीसँगै स्थानीयहरूको भीड लाग्न थालेको छ।
दुर्घटनाग्रस्त विमान त्यहाँबाट पनि अझ ठाडो भीरको फेदीमा देखा परेको छ।
सो दुर्घटनापछि उद्दार र खोजी कार्यमा समन्वय गर्न गठित विशेष टोली स्रोतका अनुसार प्रारम्भिक तीन घण्टाको अवधिमा १४ जनाको क्षतविक्षत अवस्थामा शव फेला परेको छ भने ८ जनाको खोजीकार्य जारी छ।
तर, १४ मध्य हालम्म उद्दारकमीले ८ शवलाई मात्र गहिरो खाल्डोबाट माथि तान्न सकेका छन्। त्यसमध्य २ वटा शवहरू पत्थरबीच च्यापिएर अड्किएकाे स्रोतले बताएकाे छ।
अहिलेसम्म नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी र उद्दारमा सहयोगमा गरिरहेका स्थानीय गरी ६० जना दुर्घटनास्थलमा पुगिसकेको स्रोतले जानकारी दिएको छ।
मौसम पूर्णरूपले सफा नहुँदा कोवाङमा हेलिकप्टर ‘स्ट्यानबाइ’ रहेको तर हालसम्म यथास्थितिमा दुर्घटनास्थलमा जान नसक्ने नेपाली सेनाले जनाएकाे छ।
बिहान ७ बजे हेलिकप्टरले तीन जना उद्दारकर्मीलाई दुर्घटनास्थलमा ओरालेको थियो।