
काठमाडौँ – नुवाकोटमा विद्युत प्रशारणलाइनको तारमा झुन्डिएका व्यक्तिलाई उद्दार गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारीसहितको टोली खटिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालसहित प्रहरीको टोली उद्दारका लागि खटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी रूपक खड्काले जानकारी दिए।
उनलाई तल झार्नको लागि कुनै खास औजार नभएकाले फकाएर वा मुखले बोलाएकै भरमा उक्त व्यक्तिलाई तल झार्ने प्रयास भइरहेको प्रहरीले बताएको छ।
यता सहायक प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार पहिलो प्रयास फकाएरै तल झार्ने रहेको बताएका छन्।
उनी भन्छन्, ‘हामीले अहिलै नै हेलिकप्टर मगाउने भन्ने त्यस्तो केही गरेका छैनौँ। हाम्रो पहिलो प्रयास भनेको सम्झाइबुझाइ फकाएर झार्ने नै हो।’
यद्यपि कुनै पनि हालतमा फकाएर झार्न नसकिएमा भने हेलिकप्टर मगाइने उनले बताए।
मानसिक सन्तुलन ठीक नभएका भनिएका ४४ वर्षीय माइला विक शनिबार बिहान करिब ११ बजेबाट नै विद्युतको तारमा झुण्डिएर तल झर्न मानेका छैनन्।
उनलाई तल झार्नको लागि प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन्। यद्यपि उक्त व्यक्ति भने अटेर गरेर बसिरहेको खड्काले बताए।
विक ककनी नगरपालिका वडा नं. ७ स्थित पोलमा चढेका हुन्। विक तारबाटै एक ठाउँबाट अर्को ठाउँमा जाने गरिरहेका छन्। उनको यो अनौठो हर्कतका कारण यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन्।
प्रहरीका अनुसार विकको परिवार भने अझैसम्म सम्पर्कमा आएको छैन। बिजुलीको तारबाट झर्न नमानेपछि ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए आयोजनामा विद्युत उत्पादन नै बन्द भएको छ।
करेन्ट लाग्न सक्ने भएपछि विद्युत् उत्पादन बन्द गरिएको प्राधिकरणले जनाएको छ।