
काठमाडौँ- कुवेतबाट नेपाल आएको जजिरा एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बेला रनवेमा मान्छे हिँडिरहेकाे देखेपछि पाइलटले विमान पुनः आकाशतिरै उडाउन बाध्य भए।
आइतबार बिहान करिब ३ः२० मा कुवेतबाट १०७ यात्रु लिएर नेपाल आएको जजिरा एयरलाइन्सको जे ९५४१ विमान अवतरणका क्रममा विमान स्थलमा मान्छे हिँडिरहेको देखेपछि पाइलटले तत्काल पुनः आकाशतिर फर्काएर विमान दुर्घटना हुनबाट बचाएको विमानस्थल स्रोतले जानकारी दिएको छ।
रनवेमा मानिस हिँडडुल गर्न नपाइने भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवस्थापन पक्षमा भएको लापर्वाहीका कारण १०७ सात यात्रु बोकेको विमान ठूलो दुर्घटना नजिक पुगेको थियो।
‘ओभरसुट’ गरेको विमान करिब २० मिनेट काठमाडौँको आकाशमै फन्को लगाएर दुर्घटना हुनबाट बचेको थियो। विमानस्थल स्रोतले भने सरसफाइका क्रममा कर्मचारी त्यहाँ गएको बताएको छ।
विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरले भने यो सामान्य प्रकृतिकै घटना भएको बताए। उनले भने, ‘आगामी दिनमा यस्तो नहोस् भन्नको लागि बैठक राखेर कर्मचारीलाई सचेत गराउँछौँ।’