
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोरिया जान लागेका एक कोरियन नागरिक कस्तुरीको विनासहित पक्राउ परेका छन्।
मंगलबार कोरियन एयरको उडानद्वारा कोरिया जान लागेका जंग जून जुन नामक कोरियन नागरिक पक्राउ परेका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा पक्राउ गरेको विमानस्थल प्रहरीले जनाएको छ।
विमानस्थलमा उनलाई सुरक्षा खानतलासी गर्ने क्रममा उनले लगाएको निलो रंगको म्याक्स१५ लेखिएको जुत्ताबाट कस्तुरीको विना जस्तो देखिने धुलोसहित प्रहरीले पक्राउ गरेको हो।
उनले लगाएको जुत्तालाई एक्स–रे मेशिनमा राख्न लगाई स्क्रिनिङ गर्दा दुवै जुत्ता भित्र सेतो रंगको प्लास्टिक र टेपले बेरिएको कस्तुरीको विना जस्तो देखिने धुलो सहितको पोका थान–२ (प्रत्येक जुत्तामा १/१ पोकाको दरले) को अन्दाजी तौल ७१६ ग्राम फेला परेको विमानस्थल प्रहरी स्रोतले बताएको छ।
पक्राउ परेका कोरियन नागरिकलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय, हात्तिसार पठाइएको प्रहरीले जनाएको छ।