
काठमाडौँ – यसपालिको भन्सार एजेन्टको परीक्षामा धेरै मात्रामा निजामती कर्मचारी सहभागी भएका थिए।
बुधबार भएको भन्सार एजेन्टको नतिजा अनुसार ६ सय ६० भन्सार एजेन्ट नियुक्त हुँदा करिब तीन दर्जन बाहालवाला निजामती कर्मचारी नियुक्त भएका छन्।
निजामती सेवाको आकर्षक र स्थायी जागिर छाडेर कतिपय कर्मचारी भन्सार एजेन्टमा नियुक्त भएका हुन्। जसमध्ये कतिपय निजामती तहको अधिकृतस्तरकै बाहालवाला जागिरे रहेको भन्सार विभाग स्रोतले जनाएको छ।
गत १७ वैशाखमा भएको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि ८ सय ६० उम्मेदवार छनोट भएका थिए।
जसमध्ये आठ सय ५७ जना लोकसेवाले लिएको अन्तर्वार्तामा सहभागी थिए। लिखित र अन्तर्वार्तामा प्राप्त अंकका आधारमा ६ सय ६० जना भन्सार एजेन्टमा नियुक्त भएका हुन्।
२२ वर्षपछि पहिलोपटक भन्सार एजेन्ट नियुक्त भएका हुन्। ०५७ मा ५६ जना एजेन्ट नियुक्ति भएयता कुनै पनि एजेन्ट नियुक्ति गरिएको थिएन।
भन्सार एजेन्ट स्रोतका अनुसार सरकारले हालसम्म चार सय ८१ जना भन्सार एजेन्ट नियुक्ति गरेको छ।