
काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार (आज) बस्दैछ।
बैठक बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्नेगरी तय भएको छ। महाधिवेशन सम्पन्न भएपछि पटक-पटक सर्दै आएको केन्द्रीय समितिको बैठक आज बस्न लागेकाे हाे।
बैठकमा चुनावी समीक्षा,पदाधिकारीको पूर्णता,आगामी चुनावको तयारीलगायतका विविध विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ।
गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो। तर हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन्।
महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ। त्यस्तै, केन्द्रीय सदस्यको संख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ।
थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ। माओवादीमा मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन पनि बाँकी नै छ।