
बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ।
बुटवलमा सोमबार आयोजित एक कार्यक्रमबीच १२ वर्षभन्दा माथिका उमेर समूहको कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।
बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्ण खोप सुनिश्चित गर्न आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको भन्दै पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरेको जानकारी दिए।
बुटवल उपमहानगरपालिकामा खोप लगाउन बाँकी रहेका पूर्ण खोपका लागि आह्वान गर्दै खोप केन्द्रमार्फत सेवा प्रदान गरिएको उनले बताए।
उनले तथ्यांक संकलकलाई अभिमुखीकरण गरी खोप नलगाउने तथा छुट नागरिकको तथ्यांक संकलन, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा प्रचार प्रसार, छुट नागरिकलाई खोप सेवा प्रदान, वडाबाट रेन्डम सर्वेक्षण, सबै वडाको पूर्ण खोप घोषणा गरी दिगोपना सुनिश्चित गरिएको बताए।
घोषणा कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए।
उनले स्वास्थ्य र शिक्षामा स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने बताए।
उनले कोभिड १९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रशंसनीय रहेको भन्दै आगामी दिनमा प्रदेश सरकारले स्वास्थ्यका अधिकांश कार्यक्रम स्थानीय सरकारसँग सहकार्यमै सञ्चालन गर्ने बताए।
मुख्यमन्त्री केसीले प्रदेश सरकारको चुलो सुधार कार्यक्रम स्थानीय सरकारसँगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने तयारी गरेको बताए।
‘गाउँटोलसम्म पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई नै परिचालन गर्ने गरी चुलो सुधार कार्यक्रम हामीले बुटवल उपमहानगरपालिकाबाटै सुरु गर्ने तयारी गरेका छौं’, उनले भने, ‘यसमा बुटवलका प्रमुखसँग छलफल गरी कुन मोडलमा सञ्चालन गर्ने टुंगो लगाउँछौं।’
कार्यक्रममा स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले आगामी समयमा हुन सक्ने स्वास्थ्य चुनौती सामना गर्न प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गर्ने बताए।
उनले कोभिडकालमा स्थानीय सरकारको भूमिकाकै कारण महामारी नियन्त्रणमा प्रभावकारी काम हुन सकेको बताए।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले बुटवलभित्र र बुटवलबाहिरका नागरिकलाई समेत कोभिडकालमा सेवा प्रदान गरेको जानकारी दिइन्।
उनले बुटवलमा खोेप सुनिश्चित भएको र खोप लगाउन बाँकी रहेकाहरूलाई खोप लिन आह्वान गरिन्।
उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले उपमहानगरपालिकालाई पूर्ण खोप घोषणा गर्न जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेसन तथा अनुमति प्रदान गर्न पालिकाबाट सिफारिस, जिल्ला खोप समन्वय समितिबाट भेरिफिकेसन गरी पूर्ण खोप गर्न अनुमति प्रदान भएको बताए।
उनले बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ मध्य १२ वर्ष माथि पूर्ण खोप लगाएका १ लाख ५७ हजार ३९३ जनालाई खोप लगाइएको जानकारी दिए।
उनले ९ हजार ८६५ जनालाई खोजेर र नगर बाहिरका २२ हजार ६६३ जनालाई खोप लगाइएको बताए।
कार्यक्रममा कोभिड १९ नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकासँग सहकार्य गर्ने प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, सामाजिक तथा गैरसरकारी संघ संस्था, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, उपमहानगरपालिकाका कर्मचारीलाई सम्मान गरिएको थियो।