
काठमाडाैँ- एक हप्ताअघि नवलपुरकाे अमलटारीबाट उद्दार गरी ल्याएको गैँडाको बच्चाको मृत्यु भएको छ। अन्दाजी २२ दिनको भाले बच्चाकाे बिहीबार मृत्यु भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरिनेरी डाक्टर अमिर सडौलाले बताए।
‘बच्चा हामीले लिएर आउँदा अस्वस्थ थियो’, उनले भने, ‘ बच्चा कामिरहेकाे थियाे, निमाेनिया भएको अनुमान गरेका थियौँ।’
मृत्युपछि गरिएको पोष्टमार्टम रिपोर्टमा पनि निमाेनियाका कारण ज्यान गएको देखिएको छ। बिरामी भएर हिँड्न नसकेका कारण आमाले छोडेको हुनसक्ने कोषकाे अनुमान छ।
‘ल्याउँदा नै कामिरहेको थियो। हामीले बाँच्ने आश मानेका थिएनौँ’, डा. सडाैलाले भने।
यस्ता साना बच्चा बचाउन एकदमै मुस्किल हुने कोषका कर्मचारीहरू बताउँछन्।
चितनव राष्ट्रिय निकुञ्जकाे पश्चिम सेक्टर अमलटारीले एक हप्ताअघि गैँडाकाे बेवारिसे बच्चा जंगलबाट उद्धार गरेर ल्याएकाे हाे। २२ गते बेवारिसे बच्चा देखेका अमलटारी सेक्टरका कर्मचारीले आमा आएर लिएर जाने आशमा दुई दिन निगरानीमा राखेका थिए। आमा नआएपछि निकुञ्जकाे अमलटारी सेक्टरले उद्दार गरेकाे बच्चा साैराहाकाे राष्ट्रिय प्रकृति संरक्षण काेषले २४ गतेदेखि उपचार तथा रेखदेख गर्दै आएकाे थियाे।
यसअघि उद्दार गरेर ल्याइएका अञ्जली र पुष्पा हुर्किरहेका छन्। पुष्पा र अञ्जली कोषकाे आँगनमा खेलिरहेका भेटिन्छन्। पुष्पा २८ महिनाकी भइन भने अञ्जली १४ महिनाकी भइन्।
गैँडाको बिहीबार कोषको आँगनमा गाडिएको छ।
तस्बिर: केशव अधिकारी/प्रभात खनाल