
काठमाडौँ- लोकदोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ।
प्रहरीले अनुसन्धान सकाएर रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरिरहेको प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिए।
अनुसन्धान लगभग सकिएको र प्रतिवेदन बुझाउने तयारी अन्तिम चरणमा रहेको उनले बताए।
यता महानगरीय प्रहरी परिसर काठमाडौँमा प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको तर सरकारी वकिललाई प्रतिवेदन भने बुझाइनसकेको बताए।
गायिका सुनार आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी थिइन्। असार १२ गते राति करिब ११ बजे काठमाडौँ नेपालटारस्थित आफ्नै डेरामा मृत अवस्थामा उनी फेला परेकी हुन्।
३० वर्षीया गायिका सुनारलाई केही लाइभ दोहोरीले चर्चा दिलाएका थिए। उनले आफूलाई बाँच्न मुस्किल भएको भन्दै मृत्युको अघिल्लो राति फेसबुकमा स्टाटससमेत लेखेकी थिइन्। जसले गर्दा घटना झनै शंकास्पद रुपमा प्रहरीले लिएको थियो।
प्रहरीले उनको मृत्युको घटना अनुसन्धानका क्रममा उनका प्रेमी भनिएका सूर्य श्रेष्ठलाई पक्राउ गरिसकेको छ।
गायिका सुनारको मृत्यु झुन्डिएरै भएको पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा देखिएको छ। पोस्टमार्टम रिपोर्टबाट आत्महत्यालाई नै बल पुर्याएको प्रहरीले बताएको हो।
प्रहरी नियन्त्रण रहेका श्रेष्ठले सुरुमा झुठो बयान दिएका थिए। पछि राति सँगै सुतेकी सुनारलाई बिहान झुण्डिरहेको अवस्थामा देखेपछि सल निकालेको उनले बयान दिएका थिए।
आत्तिएपछि आफू उनी झुण्डिएको सल लिएर भागेकोसमेत बताएका थिए। उनकै बयानका आधारमा प्रहरीले हराएको सल पनि बरामद गरेको थियो।