
काठमाडौँ – सशस्त्र प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहास्थित भत्केको पुल नजिकैबाट तीन ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको बाँसगढी नगरपालिका–३ बस्ने २६ वर्षीय उमेश खत्री, २४ वर्षीय कृष्ण थारु र २९ वर्षीय सुनिल थारु रहेको प्रवक्ता सुकन शर्माले बताएका छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेस फुटाहाबाट खटिएको टोलीले पक्राउ गरेको हो।
भे ९ प ४०७० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको ब्राउनसुगर फेला पारेको हो। त्यसबेला उनीहरुको साथमा दुई थान मोबाइल सेट, १० हजार १ सय २० नेपाली रुपैयाँ, एउटा चाँदीको सिक्री र मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई बरामद ब्राउनसुगर, सामान र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ।