
बुटवल- पाल्पामा भएको बस दुर्घटनाका सबै मृतकको सनाखत भएको छ।
बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत भएको पाल्पा प्रहरीले जनाएको हाे।
मृत्यु हुनेमा कपिलवस्तुको वाणगङ्गा नगरपालिका-२ का सुरज भन्ने यज्ञबहादुर सोमै, रुपन्देहीको देवदह नगरपालिका- ७ की ८७ वर्षीया डिलसरा कामी, नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-५ की २४ वर्षीया पूर्णिमा विक, बागलुङ बडिगाड गाउँपालिकाकी अन्दाजी ४५ वर्षीया यमकली थापा, गुल्मीको मुसीकोट नगरपालिका-७ का ४५ वर्षीय लालबहादुर राना कुमाल र गुल्मीकै चन्द्रकोट गाउँपालिका- ८ झुर्मगाउँका १५ वर्षीय प्रवेश काफ्ले रहेका छ्न्।
पाल्पाका प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीका अनुसार जिल्ला अस्पताल पाल्पामा उपचार गराउने घाइते १६ जनामध्ये ८ जना डिस्चार्ज भएका छ्न्।
८ जनाको उपचार भइरहेको छ। २ जनाको अवस्था गम्भीर रहेको शाहीले बताए।
आइतबार १० बजे बाग्लुङको बुर्तीबाङ्गबाट बुटवलका लागि हिँडेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका-२ लघुवामा दुर्घटना भएको थियो।