
काठमाडौँ- जनमत पार्टीका अध्यक्ष समेत रहेका सिके राउत ओशो सन्यासी बनेका छन् ।
बुधबार काठमाडौंमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर उनी ओशो सन्यासी बनेका हुन् ।
राउत काठमाडौंको रानीबारीमा रहेको ओशो तपोवनमा ९ दिनसम्म पूर्णरुपमा मोबाइल अफ गरेर ध्यानमा बसेका थिए। ९ दिन ध्यान पूरा गरेपछि उनले सन्यास धारण गरेका हुन् ।
कुनै बेला तराईलाई छुट्टै देश बनाउने अभियानमा लागेर राज्य द्रोहको मुद्धामा जेल समेत बसेका थिए राउत। सन्यासपछि राउतले नयाँ नाम पाएका छन्–‘आनन्द मैत्रेय।
उनी सन्यासी बनेसँगै सामाजिक सञ्जालमा उनको एक तस्बिरले चर्चा पाएको छ। नाम जस्तै सन्यास धारणपछि सार्वजनिक भएको तस्विरमा उनी निकै आनन्दित देखिएका छन् ।
गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्ट, पूर्व अभिनेत्री शोभिता सिम्खडाका साथमा सेतो बस्त्र, ओशोको तस्विर रहेको माला लगाएर ‘ग्रीन टी’ पिउँदै गरेको उनको तस्बिर सार्वजनिक भएको छ।