
काठमाडौँ- नेपाल राष्ट्रय बैंकले आर्थिक वर्ष २०७८/७९ मा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भएको जनाएको छ।
बैंकले मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै निर्यात ४१.७ प्रतिशतले वृद्धि भई २०० अर्ब ३ करोड रुपैयाँ पुगेको बताएको छ । अघिल्लो वर्ष यस्तो निर्यात ४४.४ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ४५.९ प्रतिशत र ३०.४ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २०.४ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा पाम तेल, ऊनी गलैंचा, धागो (पोलिष्टर तथा अन्य), जिंक शिट, जुस लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, अलैंची, चिया, औषधी (आयुर्वेदिक), तार लगायतका वस्तुको निर्यात घटेको छ ।
समीक्षा वर्षमा कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भई १९२० अर्ब ४५ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको
आयात क्रमशः २३.५ प्रतिशत, १३.२ प्रतिशत र ३६.३ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, स्पंज आइरन, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरण लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ कन्चनपुर भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात समीक्षा वर्षमा वृद्धि भएको छ ।
आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा २३.० प्रतिशतले वृद्धि भई १७२० अर्ब ४२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो घाटा २७.३ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात १०.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.२ प्रतिशत रहेको थियो ।
समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी २१३ अर्ब ५३ करोड रुपैंया बराबरको वस्तु आयात भएको जनाइएको छ । अघिल्लो वर्ष यस्तो आयात १९० अर्ब ५४ करोड रुपैंयाँ बराबरको भएको थियो ।