
काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।
वर्तमान सरकारसँग असन्तुष्टि राख्दै कटाक्ष गरिरहने पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली आज अचानक प्रधानमन्त्री देउवा भेट्न उनकाे सरकारी निवास बालुवाटार जानु सबैकाे लागि चासाेकाे विषय बनेकाे छ।
सत्ता – प्रतिपक्ष संवादहीनताको अवस्था तोड्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा भेट्न ओली बालुवाटार पुग्नुकाे कारण प्रतिनिधिसभाबाट दोस्रोपटक जारी गरिएको नागरिकता विधेयक, ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनलगायतका विषय रहेकाे स्राेतले जनाएकाे छ।
यद्यपि भेटकाे प्रमुख कारण नै यही हाे भन्नेबारे प्रष्ट खुलाइएकाे छैन।
प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पहिलोपटक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएपछि प्रतिनिधिसभाले पुनः पारित गरिसकेको छ।
दोस्रोपटक पारित गरेर पठाइने विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यता छ।