
काठमाडौँ – क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-१६ घर भइ हाल काठमाडौँ महानगरपालिका-१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाल छन्। उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
वैदेशिक रोजगारीको लागि क्रोएसियाको कृषि फर्ममा मासिक एक लाख रुपैयाँसम्म तलब हुनेगरी काम लगाईदिन्छु भनी उनले पीडितबाट ६ लाख २४ हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
दाहाललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको छ।