
बुटबल- बुटवलका तालिम केन्द्रहरूमा भारतीय सेनामा भर्ती हुनका लागि तालिम लिइरहेका युवाहरू घर फर्किएका छन्।
भारत सरकारले आफ्नो सेनामा भर्तीका लागि ल्याएको नयाँ योजना ‘अग्निपथ’अन्तर्गत गोर्खा भर्ती तत्कालका लागि स्थगित गरेसँगै उनीहरू घर फर्किएका हुन्।
बुटवलको गोर्खा स्पोर्टस् ट्रेनिङ सेन्टरका सञ्चालक रमेश थापाले करिब डेढ सय युवाले तालिम लिएको र तत्काल छनोट कार्यक्रम नहुने भनेपछि घर फर्किएको बताए।
उनका अनुसार एकपटकमा बुटवल र आसपासबाट करिब ५ हजार युवाले भारतीय सेनामा छनोटमा सहभागी हुन आवेदन दिन्छन्।
बुटवलमा भारतीय सेनाका लागि तालिम दिने ६ वटाभन्दा बढी तालिम केन्द्र छन्।
थापाले तालिम लिएर भर्ती हुने आशमा बसेका युवाहरू अन्योल भएपछि घर फर्किएको बताए।
‘३-३ महिनामा खुल्ने तालिम अहिले २ वर्षपछि खुल्दै थियो’, उनले भने,’अहिले पनि खै के विवादले भर्ती नलिने भन्ने खबर आयो, भारत सरकारले अग्निपथ योजना ल्याएपछि केही विषयमा कुरा नमिलेको हो भन्ने खबर पाएका छौँ।’