
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना आजै भत्काउने भएको छ।
अल्फाबिटाका सञ्चालकले दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि भत्काउन लागेको मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले बताएका छन्।
अनधिकृत संरचना आजै भत्काउन मेयर शाह डोजर लिएर अल्फाबिटा पुगेका छन्।
बिहीबार अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा मेयर शाह नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए।
अल्फाबिटाले पार्किङको लागि छुट्याएको ठाउँमा व्यापारिक प्रायोजनको संरचना बनाएको पाइएपछि मेयर शाहले त्यो हटाउन भनेका थिए।
शाहले अल्फाबिटा ग्रुपका सञ्चालक द्विराज शर्मालाई भवन निर्माणको नक्सा मागेका थिए तर शर्माले नक्सा आफूसँग नभएको बताए। त्यसक्रममा मेयर शाह र सञ्चालक शर्माबीच चर्काचर्कीसमेत भएको थियो।
काठमाडौँ महानगरपालिकाले बुधबारदेखि काठमाडौँका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै आएको छ।
३५ दिन अगाडि नै महानगरपालिकाले नक्सामा पार्किङका लागि अनुमति लिएर अरू संरचना बनाएको भएमा खाली गर्न सूचना जारी गरेको थियो।