
काठमाडौँ – ग्रीनकार्डसहित विभिन्न देशमा रोजगारी दिलाइदिने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रेसिडेन्टल इमिग्रेसन प्रा.लि कन्सल्टेन्सीका सञ्चालक प्रविन राईसहित तीन जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए।
उनका अनुसार ३५ वर्षीय प्रविन राई संखुवासभाको सिलिचोङ गाउँपालिका–२ का हुन्। पश्चिम नवलपरासी रामग्राम–३ परासी बजारका ४६ वर्षीय ओमकार गुप्ता पनि पक्राउ परेका छन्। उनी उक्त कन्सल्टेन्सीका उपनिर्देशक हुन्।
यस्तै इलामको सूर्योदय नगरपालिका–११ करफोकका ३४ वर्षीय सञ्जय तामाङ पनि पक्राउ परेका छन्। उनी पनि कन्सल्टेन्सीको उप निर्देशक भएको बताइएको छ। उनीहरुले क्यानडा, जापान, अमेरिकालगायत देशको ग्रिनकार्डसहित वैदेशिक रोजगारीमा पठाइदिने भनी करोडौँ रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ।
तर, त्यसका लागि सम्बन्धित निकायबाट अनुमति नलिएको खुलेको छ। यसरी ठग्न सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा विज्ञापन गरेको पनि पाइएको छ।
उनीहरुलाई प्रहरीले कन्सल्टेन्सीबाटै पक्राउ गरेको हो। उनीहरुले कन्सल्टेन्सी दर्ता गर्दा वैदेशिक अध्ययनका लागि जाने व्यक्तिहरुलाई शैक्षिक परामर्श दिने भनि दर्ता गरेका थिए। शिक्षा मन्त्रालयको शैक्षिक परामर्श शाखाबाट कुनै पनि अनुमति नलिएको प्रहरीले जनाएको छ।
अदक्ष कामदारको लागि अमेरिका जान इमिग्रेसन भिसा र ग्रीनकार्डको प्रक्रियाका लागि दुई वर्ष समय लाग्ने र ५० लाख रुपैयाँसम्म खर्च लाग्ने भनि दर्जनौं पीडितहरुबाट करोडौं असुलेको प्रहरीले जानकारी दिएको छ।
कन्सल्टेन्सीबाट कागजात पनि नियन्त्रणमा लिइ शिक्षा ऐन, २०२८ तथा ठगीसम्बन्धी कसुरमा कारबाही गर्न काठमाडौँ परिसर पठाएको छ।