काठमाडौँ– अभिनेता प्रदीप खड्काले चलचित्र प्रकाशलाई हलहरुमा प्रदर्शनको लागि स्थान नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपाली कथावस्तु बोकेको बौद्धिक चलचित्रलाई हलहरुले प्रदर्शनको लागि स्थान नदिएको बताएका हुन्।
अभिनेता खड्काले दर्शकको माग आइरहेको अवस्थामा समेत आफूलाई निशाना बनाएर हलहरुले स्थान नदिएको गुनासो गरे। उनले प्रकाशलाई ३ बजेपछिको शोजहरु पनि नदिएको र बिहानको शोहरु पनि नदिएको बताए।
उनले ठूलो हलहरुले नै नेपाली फिल्मलाई बेवास्ता गरेको भन्दै अब फिल्म चोकचोकमा प्रोजेक्टर लगाएर देखाउनुपर्ने भएको बताए। उनले प्रकाश फिल्म पैसा कमाउनका लागि नभइ कर्णालीको कथा देखाउने मुल उद्देश्य रहेको बताए।उनले शो नपाए चोक चोकमा प्रोजेक्टर लगाएर फिल्म चलाउने बताए।
उहाँले भने, ‘सिधा भन्दा ओपन कम्पिटिशन हो। बाहिरको फिल्म पनि आएका छन्, हामी पनि जान्छौँ। सामान्य कुरा हो। तर बायसनेस भयो कि भएन भन्नेकुरा मात्रै हो मेरो। हाम्रो फिल्म मास अपिलिङ भनेर लाग्दैन होला । तर यो फिल्म झुर नै हो, फिल्म इण्डस्ट्रिको लागि कलंक नै हो भनेर पनि त कसैले भन्न त सक्दैन नि । त्यसरी ट्याग लगाउन त भएन नि। उहाँहरुले फिल्म हेर्नुभएको छैन, अडियन्सले फिल्म हेरेर राम्रो प्रतिक्रिया दिइरहनुभएको छ।’
उनले थपे,‘हामी हिजोबाट बोल्न थालेपछि सिनारियो चेन्ज भएको छ। हामीले फिल्म प्रदर्शनी गर्दा परिस्थिति अर्कै थियो। ३ बजेपछि प्रकाशको शो नै छैन। सबैभन्दा ठूलो हलहरुले शो दिएका रहेनछन्। फिल्म बनाएका छौँ । हल नपाएपछि अब हल त बनाउन सकिँदैन, चोकचोकमा प्रोजेक्टर लगाएर फिल्म देखाउनपर्ने भएको छ। हामीलाई पैसा कमाउने होइन, कर्णालीको कथा देखाउनु थियो । यदी शो पाइएन भने चोक चोकमा प्रोजेक्टर लगाएर फिल्म चलाउने हो । कतै न कतै नियतमा खोट छ।’
अभिनेता खड्काले सिनेघर सञ्चालकहरुको नियतमा खोट रहेको दाबी गरे।

भर्खरै
लोकप्रिय






































































































































































































