
काठमाडौँ – ढाका साफको दुई वर्षपछि नेपाली महिला राष्ट्रिय टिमले दोस्रो साफ २०१२ मा कोलम्बोमा खेल्यो। पहिलो साफमा फाइनलमा भारतसँगको हारपछि दोस्रो साफ नेपालका लागि झनै महत्वका साथ हेरियो। श्रीलंकाको कोलम्बोमा भएको प्रतियोगितामा नेपाली महिला राष्ट्रिय टिमको जिम्मा प्रशिक्षक किशोर केसीले सम्हालेका थिए। एक महिने अभ्यासपछि २० खेलाडी छनोट गर्दा उनले महिला टिममा देखेको उत्साह अहिले पनि उनको सम्झनामा ताजै छ।
तत्कालीन टिमबारे केसी भन्छन्, ‘केही नयाँ अनुहारसहित टिम बनाउँदै गर्दा हाम्रो लक्ष्य उपाधि जित्नकै लागि थियो। यद्यपि, पर्याप्त तयारी र धेरै एकस्पोज नहुँदा खेलाडीहरू मैदानमा उत्रिँदा स्वभाविक रुपमा दबाब महसुस त गर्ने नै भए तर उनीहरूमा देखिएको उत्साहले उपाधि जित्ने लक्ष्यमा थप बलियो बनाएको थियो।’
छोटो तयारीका बाबजुद पनि केसीले समूह चरणमा खेलाडीलाई दबाब महसुस हुन दिएनन्, उत्साहमा कमी आउन दिएनन्। ‘सुरुवातबाटै हामीले विपक्षीविरुद्ध दबाब दिन सफल भयौँ। जसले परिणाम पनि दियो। खेलाडीहरू समूह चरण हुँदै फाइनलसम्म पुग्दा भारतविरुद्ध मानसिक रुपमा पनि हामी खेल्नका लागि बलियो भइसकेका थियौँ।’
भारतपछि नेपालविरुद्ध गोल गर्ने अफगानिस्तान एक मात्र देश
पहिलो साफमा भारतबाहेक कुनै पनि देशले नेपाली पोस्टमा गोल गर्न सकेका थिएनन्। तर, दोस्रो साफमा अफगानिस्तान नेपालविरुद्ध गोल गर्न सफल भयो। तर, नेपालले आफ्नो फराकिलो जित भने कायम राखेको थियो।
७-१ को जित निकाल्दा नेपालले समूह चरणबाट पाकिस्तान र माल्दिभ्ससँग गोल नखाइ प्रभावशाली जित निकालेको थियो। नेपालविरुद्ध अफगानिस्तानकी मार्जन हाइदरीले गरेको गोल अहिले पनि साफ महिला च्याम्पियन्समा भारतबाहेक एक मात्र टिमले गरेको एक गोलका रुपमा कायम छ।
पहिलो खेलमा २०१२ को सेप्टेम्बर ८ मा पाकिस्तानलाई ८-० ले पराजित गर्दा दोस्रो खेलमा माल्दिभ्सलाई ५-० ले पराजित गरेको थियो। समूह चरणको अन्तिम खेलमा अफगानिस्तानका लागि हाइदरीले नेपालविरुद्ध ४२ औँ मिनेटमा गोल गरेकी थिइन्। जतिबेला नेपालले २-० को अग्रता बनाइरहेको थियो।
अफगानिस्तानले गरेको गोल सम्झदै प्रशिक्षक केसी भन्छन्, ‘अफगानिस्तानका केही खेलाडीहरु युरोप र अमेरिकाबाट राष्ट्रिय टिमका लागि सहभागी हुन आएका थिए। तीमध्ये एक, दुई खेलाडीमा राम्रो अट्याकिङ क्षमता थियो। त्यसकै कारण अफगानिस्तानले नेपालविरुद्ध गोल गर्यो।’
अफगानिस्तानले गरेको गोल सम्झदै प्रशिक्षक केसी भन्छन्, ‘अफगानिस्तानका केही खेलाडीहरु युरोप र अमेरिकाबाट राष्ट्रिय टिमका लागि सहभागी हुन आएका थिए। तीमध्ये एक, दुई खेलाडीमा राम्रो अट्याकिङ क्षमता थियो। त्यसकै कारण अफगानिस्तानले नेपालविरुद्ध गोल गर्यो।’
सात खेलाडीको डेब्यू
दोस्रो साफ नेपाली महिला फुटबलरले राष्ट्रिय टिममा स्थान बनाएको सर्वाधिक उर्जाशील साफका रुपमा समेत रह्यो। प्रशिक्षक केसीले १० वर्षअघिको उक्त साफमा ७ नयाँ खेलाडीलाई डेब्यू गराएका थिए।
२० सदस्यीय नेपाली टोलीको घोषणा हुँदा तत्कालीन समयमा नेपाल पुलिस क्लबकी रिना गुभाजु, यशोदा लामा, घिमकुमारी गुरूङले राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
त्यस्तै, नेपाल आर्मीबाट खेल्दै आएका अञ्जली वाईवा, लीला लाम्गादे, क्रिष्णा खत्री र कैलालीकी निशा बोहराले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका थिए। प्रशिक्षक केसी भन्छन्, ‘हामीले महिला फुटबललाई व्यवसायिक र लामो भविष्य सोचेर ७ खेलाडीलाई डेब्यू गराएका थियौँ। जसले नतिजा पनि दियो।’
अग्रता जोगाउन नसक्दा चुकेको उपाधि
समूह चरणमा २० गोल गरेर १ गोल तथा सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई ३-0 ले पराजित गर्दै फाइनल यात्रा तय गरेको नेपालका लागि फाइनल अनुभव भने फरक रह्यो। सुरुवातमै गोल गर्दै नेपालले भारतलाई साफमा पहिलो पटक गोल गरेको कीर्तिमान बनायो। तर, भारतविरुद्ध समग्रमा पहिलो गोल भने थिएन, किनकि २०१० को सागको स्वर्णका लागि भएको खेलमा नेपालले भारतविरुद्ध गोल गरेको थियो। तर पछि नेपाल पराजित हुन पुग्यो। दोस्रो साफमा नेपालले भारतविरुद्ध लिएको अग्रताको उत्साह निकै सानदार थियो।
नेपालका लागि दिपा अधिकारीले तेस्रो मिनेटमा नै सानदार गोल गर्दै टिमलाई अग्रता दिलाइन् तर बलियो भारतलाई लामो समय नेपालले रोक्न असफल भयो। ५ मिनेटपछि नै भारतले गोल फर्काउँदै खेल बराबरीमा ल्यायो। पहिलो हाफमा बराबरी भएको खेलमा दोस्रो हाफ भने तनावपूर्ण रह्यो जहाँ नेपालले थप दुई गोल खाँदा उपाधि सपना पुनः पछि धकेलियो।
‘अम्पायरको गल्तीले गर्दा दोस्रो गोल खान पुग्यौँ। २-१ ले पछि रहेपछि गोल फर्काउने दबाबमा थप आक्रामक बनेर खेल्दा भारतले अन्तिम समयमा तेस्रो गोल गर्यो,’ केसी भन्छन्, ‘हामी गोलसँगै उपाधि जित्ने विश्वासमा थियौँ, त्यसो त बलियो टोलीविरुद्ध सुरुवाति अग्रतापछि अपेक्षा स्वभाविक पनि हो तर हामीले जोगाउन सकेनौँ, जसको अभाव अहिले पनि महसुस हुन्छ।’
दोस्रो साफमा पनि कप्तानको जिम्मेवारीमा रहेकी जमुना गुरूङ खेलाडीहरुमा निरन्तरको उत्साहमा सफल्ता प्राप्त गरेको तर अग्रता जोगाउन नसक्दा उपाधि जित्न नसक्नुको पीडाबोध हुने गरेको बताउँछिन्।
‘मेरो लागि पहिलो र दोस्रो दुबै साफ अविष्मरणीय रह्यो। पहिलो साफमा १-० को हार र जित्न सक्ने सम्भावनाबीच दोस्रो साफमा अग्रता गुमाउनु परेको थियो,‘ उनी भन्छिन्, ‘हरेक साफ आउँदा सम्झना बनेर बिझाउने यो घाउ कुनै न कुनै समय नेपालले भारतलाई हराएर उपाधि जितेपछि प्राप्त हुने खुसीको मलमले मात्र निको बनाउने छ।’