
सिमकोट – सिमकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका ६ वटा विद्यालयका कक्षा र दुुई वटा विद्यालयलाई समायोजन गरेको छ। शिक्षक भए पनि विद्यार्थी संख्या ज्यादै न्यून भएपछि ती विद्यालय र कक्षा समायोजन गर्ने निष्कर्षमा गाउँपालिका पुगेको हो।
गाउँपालिकाको शिक्षा शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यका अनुसार धेरै लामो प्रयासपछि न्यून विद्यार्थी भएका कक्षा र विद्यालय समायोजन गर्न सफल भएको छ।
विद्यालयमा पाँच जना विद्यार्थी र एउटा कक्षामा दुई जना मात्र विद्यार्थी संख्या भएपछि गाउँपालिका त्यस्ता कक्षा र विद्यालयलाई समायोजन गर्न बाध्य भएको हो।
गाउँपालिकाको चार वर्षदेखिको प्रयास अहिले सफल भएको हो। गाउँपालिकाले समायोजन गरेका विद्यालयमा वडा नम्बर ३ को कक्षा पाँचसम्म स्वीकृत पाएको हिमगिरि प्राविलाई सोही वडाको रलिङ मावि र वडा नम्बर १ को बैजीवाडा आधारभूत विद्यालयलाई चाङ्ला हिमाल आविमा समायोजन गरिएको छ।
भौतिक संरचना राम्रो भए पनि अब ती विद्यालय बन्द हुनेछन्। हिमगिरिमा पाँच जना विद्यार्थी र बैजीवाडा आविमा चार जना विद्यार्थी थिए। ती दुुवै विद्यालयका शिक्षकलाई पनि समायोजन भएका विद्यालयमा पठाइएको छ।
त्यसैगरी, कक्षा समायोजन गरिएका विद्यालयबाट कक्षा चार, पाँच र ६ कक्षालाई अर्को विद्यालयमा सारिएको छ।
यसरी कक्षा समायोजन गरिएका विद्यालयमा महाकाल आवि लाङ्दुुबाट सिद्धार्थ आवि बुुराउसे, सर्किदेउ आविबाट कैलाश मावि, भीमसेन आविबाट ६ कक्षालाई बालमन्दिर मावि, दोभान आविबाट कर्णाली मावि, हिमाली बहिरा तथा बौद्धिक अपांग आवासीय विद्यालयबाट भीमसेन आवि र जनज्योति आविबाट बालमन्दिर मावि छन्।
कक्षा समायोजन भएका ती सबै विद्यालयमा अब कक्षा तीनसम्म मात्र अध्ययन हुनेछन्। गाउँपालिका अध्यक्ष विजय भण्डारीले आवश्यक र बाध्यताका आधारमा विद्यालय र कक्षा समायोजन गर्नुपरेको बताए।
यसबाट शिक्षक अभाव र राज्यको स्रोत दुुरुपयोग हुने कार्य रोकिने विश्वास उनले व्यक्त गरे।
विद्यालयमा विद्यार्थी संख्या निकै कम भएकाले हाललाई विद्यालय बन्द गर्नुपरेको जानकारी दिँदै उनले आवश्यकता महसुुस भएपछि अनुमति दिन सकिने बताए।
यससँगै अब उक्त गाउँपालिकाले शिक्षक दरबन्दी मिलान कार्यलाई पनि अगाडि बढाउने तयारी गरेको छ।