
काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ।
शुक्रवार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन,अनुसन्धान र विकासको लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र आविष्कार केन्द्र बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
समझदारीमा प्रवद्र्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गरेका हुन्।
आविष्कार केन्द्रले आगामी वैशाखसम्म सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन निर्माण सक्नेगरी सरकारले सघाउने सम्झौता भएको छ।
सम्झौता हस्तारक्षर कार्यक्रमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसमेत उपस्थित रहेका थिए।
हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री बडूले आविष्कार केन्द्रसँगको सम्झौताले सरकारको राष्ट्रिय नीतिलाई सहयोग पुग्ने बताए।
उनले नेपालको राष्ट्रिय उत्पादनलाई अभिवृद्धि गरी उत्पादनको उपभोगमा समेत अभिवृद्धि गर्ने राष्ट्रिय नीति रहेको बताए।
मन्त्री बडूले उत्पादन गर्ने कुरा स्थानीय तहबाट नै शुरु गर्दा स्थानीय स्तरमा नै रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरे।
उनले उत्पादन बढाउने उद्योगहरु स्थापना गर्दा स्थानीय स्तरमा रोजगारी सिर्जना भएर रोजगारीको क्षेत्रमा ठूलो रुपान्तरण हुने बताए।
मन्त्री बडूले नेपालको स्थानीय स्तरमा नै उत्पादन बढाउनको लागि सरकारले साना साना उद्योगको योजनाहरु अगाडि बढाएको दाबी गरे।
उनले सात वटै प्रदेशमा बिजनेस इकोभेसन सेन्टर खोल्ने कल्पना गरेका भन्दै त्यसले उद्यम र उद्यमीहरुको संख्या बढाउने बताए।
उनले सरकार उत्पादन क्षेत्रमा काम गरिरहेका निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढने बताए।
मन्त्री बडूले उत्पादन क्षेत्रमा लागेका निजी क्षेत्रसँगको सहकार्यले मात्रै सरकारको राष्ट्रिय उद्देश्य पूरा गर्न सहयोग पुग्ने बताए।
उनले गाउँघरमा रोजगारीको माध्यम साना घरेलु उद्योगहरु भएको भन्दै साना उद्योगको सरकारले प्रवद्र्धन गर्नसके गाउँघरको आवश्यकता पूरा हुने र रोजगारी सिर्जना हुनेपनि बताए।
उनले भने,‘ नेपालको गाउँघरमा ठूलो रोजगारीको माध्यम भनेका साना घरेलु उद्योगहरु हुन्। यस्ता उद्योगको प्रवद्र्धन गर्न सक्यौं भने हाम्रो गाउँघरको आवश्यकता पूरा र रोजगारी सिर्जना हुन्छ। राष्ट्रिय आविस्कार केन्द्रले यो भन्दा राम्रो काम गर्नु भएको छ। मुलुकको निम्ति आवश्यकता कहाँ त्यसका लागि के आविस्कार गर्नुपर्छ। मुलुकको तत्कालको आवश्यकता के हो त्यसलाई सानो स्तरबाट कसरी सकिन्छ त्यसको खोजि केन्द्रले गरेको छ। कृषि प्रयोजनका लागि प्रयोग हुने कृषि उत्पादनलाई सहज रुपमा छिटो छरितो बनाउनको लागि मेसिन तयार गर्नुभएको र त्यसको स्थानीय किसानहरुको प्रयोग हुन थालेका छन्। यो महत्वपूर्ण कुरा छ। अहिले सरकारको उद्देश्य नेपालको राष्ट्रिय उत्पादनलाई अभिवृद्धि गर्ने र उत्पादनको उपभोगमा पनि अभिवृद्धि गर्ने सरकारको लक्ष्य छ।’
उनले थपे,‘त्यसरी उत्पादन गर्ने कुरा स्थानीय तहबाट नै शुरु गर्नुपर्छ। त्यसरी शुरु गर्दा स्थानीय तहमा रोजरारी सिर्जना हुन्छ। स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने कुराले ठूलो रुपान्तरण हुँदैछ। सरकारले स्टार्टअप उद्यमको कल्पना गरेका छौं। नेपालको स्थानीय स्तरमा नै उत्पादन बढाउनको लागि सरकारले साना साना उद्योगको योजनाहरु अगाडि बढाएको छ। सात वटै प्रदेशमा बिजनेस इकोभेसन सेन्टर खोल्ने कल्पना छ। त्यसबाट उद्यम र उद्यमीहरुको संख्या बढाउने हो। त्यसको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढेको छौं। उत्पादन क्षेत्रमा लागेका निजी क्षेत्रसँगको सहकार्यले राष्ट्रिय उदेश्य पूरा गर्न सहयोग पुग्छ।’
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले उद्योग र उद्यमी नबढाएसम्म देशको अर्थतन्त्र नबढ्ने बताए। उनले देशको अर्थतन्त्र बढ्न उद्यमीहरुले बढाएर उद्योगहरु सञ्चालन गर्न आवश्यक रहेको बताए।
पुनले राष्ट्रिय आविस्कार केन्द्रको मुख्य उद्देश्य पनि उद्यमीहरु बढाउने भएको बताए। उनले लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रसँग भएको सम्झौताले अनुसार ४० लाख रुपैयाँको सिन्के धुप र दाँत कोट्याउने सिन्का बनाउने मेसिन बनाउने योजना रहेको बताए।
उनले सन्केधुप, दाँत कोट्याउने सिन्का बनाउने मेसिन, झाडु, बाँसको मुडा बनाउनेलगायत मेशिन बनाउन खर्च गरिने बताए। सम्झौता अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म सबै काम सक्ने उनको भनाइ थियो।
उनले भने,‘ नेपालमा उद्योग उद्यमी नबढाएसम्म देशको अर्थतन्त्र बढ्दैन । कुनैपनि देशको अर्थतन्त्र बढाउने भनेको उद्यमीहरुको उद्योगहरु सञ्चालन गरे मात्रै मुलुकको अर्थतन्त्र बढ्ने हो। राष्ट्रिय आविस्कार केन्द्रको मुख्य उद्देश्य पनि उद्यमीहरु बढाउने हो। लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रसँग भएको सम्झौताले अनुसार ४० लाख रुपैयाँको सिन्के धुप बनाउने मिसेन बनाउने छौं। बजारमा दाँत कोट्याउने सिन्का पनि चीनबाट आउने भयो। धेरै नेपालीले टुथपीक बनाउने मेसिन बनाउन माग आएको छ। त्यस्तै किसानहरुको माग धेरै भएको पहाडमा कोदो कुट्ने मेसिन बनाउने योजना रहेको छ। त्यस्तै बासबाट उत्पादन गर्न सकिने सबै प्रकारका सामग्री बनाउने मेसिन बनाउने योजना रहेको छ। सम्झौता भए अनुसार केन्द्रले चालु आर्थिक वर्ष भित्र सक्नेछ।’
समझदारीअनुसार आविष्कार केन्द्रलाई अनुदानस्वरुप ४० लाख रुपैयाँ यो आर्थिक वर्षका लागि प्राप्त हुनेछ।