काठमाडौँ – स्नातकसम्म झापाबाट अध्ययन सकाएका रोहित शाह स्नातकाेत्तर गर्न काठमाडौँ हानिए। काठमाडौँ स्कुल अफ म्यानेजमेन्टबाट एमबीए गरे।
त्यसपछि उनी कलेजमा पढाउन लागे। तर, उनको मन पढाउनभन्दा अन्यत्रै थियो। कसरी बिजनेस गर्ने भनेर दिनरात सोच्थे।
उनी भन्छन्, ‘कलेज पढाउँदा एक किसिमको आनन्द त आइराख्या थियो तर स्टिल बिजनेस गर्नु नै मेरो इन्ट्रेस्ट थियो।’
बच्चैदेखि ‘बिजनेस’ गर्ने हुटहुटी भए पनि के गर्ने भन्ने विषयमा उनले मेसो पाउन सकेका थिएनन्। यही सोच्दै सोच्दै एक दिन उनी पानीपुरी खान गए। र, त्यहाँ देखेको भीडले आफूले पनि यो व्यापार सुरु गर्नुपर्छ भन्ने लाग्यो।
रोहित भन्छन्, ‘पानीपुरी खान जाँदा धेरै भीड भएर लाइनमा उभिनुपर्ने, त्यहीँमाथि हाइजेनिक पनि पाइएन। एकपटक बरु आफै एक्सपेरियन्स दिऊँ न त भन्ने विचार आयो।’

पानीपुरी तयार गर्दै रोहित र उनका सहकर्मी । पसलमा अधिकांश समय उनी यसरी नै व्यस्त रहन्छन् ।
कुनै पनि व्यवसाय ठूलो ठाउँमा अनि ठूलै कुराको गर्नुपर्छ भन्ने सोच उनमा थिएन। उनी यो कुरा अरुलाई पनि भन्ने गर्थे। र, अब रोहितको आफैले गरेर देखाउने बेला आएको थियो।
उनलाई अहिले चलिराखेको ट्रेन्डभन्दा केही भिन्न गर्ने मन थियो। साथीहरूलाई रोहितले आफ्नो आइडिया सुनाए। तर, व्यवसाय सुरु गर्न उनीसँग धेरै पैसा भने थिएन। अन्ततः ४ जना साथीको केही सहयोगमा ८ लाख लगानीमा रोहितले सुरु गरे ‘पुच्का वर्ल्ड’। रोहितले यो व्यवसाय सुरु गरेको ५ महिना भयो।
‘पुच्का वर्ल्ड’मा उनको ७० प्रतिशत लगानी छ भने साथीहरूको ३० प्रतिशत । एकजना काम गर्ने मान्छे पनि आफूसँगै राखेका छन्। ‘पुच्का वर्ल्ड’कै लागि भनेर हाल उनले कलेज पढाउन छाडेका छन्।
‘पुच्का वर्ल्ड’को मुख्य विशेषता भनेको यहाँ पाइने पानीपुरीको ५ वटा फ्लेभर हाे। अकबरे खुर्सानी, इमली, जलजीरा, पुदिन अनि पीरो अमिलो नखानेलाई गुलियो स्वाद छ। रोहितका अनुसार ग्राहकले सबैभन्दा बढी अकबरे, इमली र पुदिना फ्लेभर मन पराउँछन्।
बिहान १० देखि बेलुकी साढे आठ बजेसम्म सातै दिन खुल्छ ‘पुच्का वर्ल्ड’। यद्यपि, शनिबार भने दिउँसो दुई बजे पछि मात्र खुल्छ।
सुरुवाति दिनमा दैनिक २०० को मात्र व्यापार हुने गर्थ्याे। तैपनि, हतोत्साही भएनन् उनी। त्यसैले त अहिले उनले दैनिक ७०–८० प्लेटसम्म पानीपुरी बेच्छन्।
उनी भन्छन्, ‘अहिले त अब स्र्टाटिङ फेज नै छ। मार्केटिङ पनि केही गरेको छैन। प्रोडक्ट पनि भर्खर भर्खर बढाउँदै छौँ। बिस्तारै राम्रो होला।’
‘महिनाको २० हजार भाडा तिर्नुपर्ने भएकाले सुरुका ३ महिना त घाटा बेहाेर्नुपर्याे’ उनी थप्छन्,‘तर चाैथाे महिनादेखि भने लगभग पुगिराख्या छ।’
‘पुच्का वर्ल्ड’को पानीपुरीको प्रतिप्लेट ५० पर्छ। उनी भन्छन्, ‘मान्छेले ठिक्क पैसा तिरेर, राम्रो ठाउँमा राम्रो खान पाउन् भन्ने हाम्रो चाहना हो। यहाँ भएका जुनसुकै फ्लेभर एउटै प्राइसमा खान सकिन्छ।’
रोहितका अनुसार ‘पुच्का वर्ल्ड’मा अन्तभन्दा पानीपुरीको स्वाद फरक छ। अरुमा भएका समस्या उनले समाधान गर्न खोजेका छन्। भन्छन्,‘प्रायःजसो ठाउँमा राम्रो बस्ने ठाउँ हुँदैन तर यहाँ बस्ने ठाउँ छ, सरसफाइ पनि राम्रो छ।’
‘पुच्का वर्ल्ड’मा पानीपुरी सँगसँगै चटपटे, दहीपुरी, समोसा चाट पनि पाइन्छ। रोहितका अनुसार यहाँको पानीपुरीमा पाइने सामग्रीहरू सामान्यतया घरमै बनाइन्छ।
शाहले पानीपुरी मात्र होइन, पसलमा पुस्तक पनि राखेका छन्। आफ्नो पसलमा सजाइएका किताब देखाउँदै उनले भने, ‘मेरो कारण कसैले पढोस् भन्ने चाहना हो।’
अहिले आफूले गरिराखेको कामबाट निकै सन्तुष्ट छन् रोहित। भन्छन्, ‘सोचेको कुरा पूरा हुँदा मज्जा लाग्दो रहेछ।’ विगत सम्झिँदै रोहित भन्छन्, ‘पानीपुरी बिजनेस सुरु गर्छु भन्दा गिज्याउने धेरै थिए।’
उनी थप्छन्, ‘बाबा र ममीले पनि सुरुमा यो आइडिया सुनिसक्दाखेरी पानीपुरी बेच्न हो एमबीए गरेको भन्नुभएको थियो।’
रोहितका बुवा आमालाई भने उनले सरकारी जागिर खाइदेओस् भन्ने थियो। तर, बच्चैदेखि व्यवसायीक पृष्ठभूमिमा हुर्किएको हुनाले उनलाई जागिर गर्न मन थिएन।
बुवाआमाको ढिपीमा एकपटक उनले राष्ट्र बैँकमा नाम निकाल्न भनेर पढ्नका लागि किताब पनि ल्याए। तर, उनलाई कसैगरी पनि यसप्रति चासो जागेन।
तर, जब कसैले नयाँ बिजनेस सुरु गर्यो भनेर उनले सुन्थे त्यतिबेला भने उनलाई चासो सँगसँगै पीडा पनि हुन्थ्यो।पीडा यसअर्थमा की आफूले केही गर्न सकिएन भनेर उनको मन पोल्थ्यो।
पानीपुरीलाई मधेसी समाजले मात्र गर्ने खालको काम भनेर एउटा अवधारणाजस्तो बनाइएको गुनासो छ उनको।
उनी भन्छन्, ‘यसमा धेरै ठूलो स्कोप छ। म के भन्छु भने सानो र ठूलो कुनै पनि काम हुँदैन। त्यसको स्कोपचाहिँ देख्न सक्नुपर्छ। मैलेचाहिँ पानीपुरीमा स्कोप देख्या छु। स्ट्रिट फुडमा स्कोप देख्या छु। र, यसमा एउटा राम्रो बिजनेस खडा गरेर देखाउने सपना छ।’
उनका बाबाआमालाई पनि छरछिमेकले छोरालाई पानीपुरी बेच्न लगाएको भनेर बेलाबेलामा गाली गर्छन्। कतिले त पानीपुरी बेच्न किन एमबीए गरेको? १२ सक्काएर बेचेको भए भइहाल्थ्यो पनि भने।
पानीपुरी व्यापार बानेश्वरमै किन त? भन्ने प्रश्नमा रोहित भन्छन्, ‘काठमाडौँ आएदेखि नै नयाँ बानेश्वरमा बसेकाले यहाँको मार्केट अब्जर्भ गरि’रा हुन्थेँ। यहाँको पानीपुरी पसलमा ५ मिनेट पनि फुर्सद हुन्थेन।’
यद्यपि, कम्ती लगानी हुँदा चोकमा स्पेस पाउन कठिन भएकाले उनले चोकभन्दा अलिकति तल पसल राखेका छन्।
भन्छन्, ‘चोकबाट यहाँ हिँडेर आउन जम्मा २ मिनेट लाग्छ। जसले राम्रो पानीपुरी सफा ठाउँमा खान चाहनुहुन्छ उहाँलाई त यो दुई मिनेट केही पनि हैन नि!’
उनी भन्छन्, ‘हाम्रो देशबाट अहिले धेरै युवा विदेश पलायन भइराख्या छन्।हामीले रिस्क लिन डराइराख्या हुन्छौँ। सानो रिस्क लिन डराएको हुनाले सपनाहरूलाई फलो गर्देनौँ । सानो भएपनि जाेखिम लिनुस् र आफ्नो सपनाकाे बाटाे पछ्याउनुस्। अलिअलि दुःख पाए पनि फ्युचरमा राम्रै हुन्छ।’
‘पुच्का वर्ल्ड’को भावी योजना भनेकोचाहिँ स्ट्रिट फुडलाई कभर गर्नु हो। रोहित थप्छन्, ‘लस्सी र पापडी चाट थप गर्ने तयारीमा छौँ।’