
काठमाडाैँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालको अर्थतन्त्र सिमित व्यापारिक घरानाको नियन्त्रणमा रहेको औँल्याएका छन्।
बिहीबार त्रिभूवन विश्वविद्यालय अर्थशास्त्र विभागमा भिजिटिङ प्रोफेसरका रूपमा विद्यार्थीलाई कक्षा लिने क्रममा उपमहासचिव पुनले यस्तो औँल्याएका हुन्।
पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले अर्थतन्त्रको ठूलो हिस्सा सिमित घरानाका मुठीमा रहनुले मुलुकको आर्थिक विकासमा चुनौती खडा गरेको बताए। उनले अर्थतन्त्रको ठूलो हिस्सा सिमित घरानाको एकाधिकार हुन नहुने बताएका हुन्।
पुनले सिमित घेरामा मात्रै नभएर सबैमा प्रतिष्पर्धी बनाउनुपर्ने बताए। उनले नेपालमा अहिलेको लागि मिश्रित अर्थनीति नै राम्रो हुने बताएका हुन्। राज्यले सकेसम्म एकाधिकार खालको पुँजीलाई नियन्त्रण कम गर्नुपर्ने समेत उनले बताए।
‘मुलुकको अर्थतन्त्र एउटा सानो घेराले मात्रै सञ्चालन गरेर उनीहरुको स्वार्थमा अर्थमन्त्रीलाई सफल र असफल बनाउने खालको काम सानो समूहले खेल्छ भन्नेछ। तर त्यस्तो एकाधिकार हुनुहुँदैन। यसलाई प्रतिष्पर्धी नै बनाउनु पर्छ।’, उनले भने,’हाम्रो लागि मिश्रित अर्थनीति राम्रो हो। यो अवस्थामा निजी क्षेत्रलाई पुँजी निर्माण गर्न प्रेरित गर्नुपर्छ। सरकारले करमा छुट दिने र सरकारले लोककल्याणकारी कामहरु गर्नुपर्छ। त्यसो गर्दा मात्रै ब्यालेन्स हुन्छ।’