
अर्घाखाँची – उपसभामुख तथा नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफू अर्घाखाँचीबाट उम्मेदवार बन्ने संकेत गरेकी छन्।
उपसभामुखमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला पुगेकी भुसालले जिल्लाबाट प्रत्यक्ष निर्वाचनको लागि आफूले इच्छा जाहेर गरेको भन्दै स्वाभाविक उम्मेदवारी रहने स्पष्ट पारेकी हुन्।
युवाहरुलाई अवसर दिने बहानामा पुरानालाई निषेधको राजनीति गरिनु नहुने भुसालले बताइन्।’हो नयाँलाई ठाउँ दिनुपर्छ भन्दाभन्दै पुरानालाई निषेध गर्नुहुँदैन’, भुसालले भनिन्’नयाँले अवसर पाउनुपर्छ भन्दैगर्दा पुरानाले राजनीतिक इच्छा राख्नु स्वाभाविक हो। उनीहरुको अधिकार कुण्ठित गरिनुहुँदैन।
टिकट पाउने नपाउने पार्टीको हातमा रहेको भन्दै उपसभामुख भुसालले टिकट पाउनेमा आफु विस्वस्त रहेको बताइन। ‘पार्टीले टिकट दिनेमा विस्वस्त छु, दिएनछ भने जसले टिकट पाउनुहुन्छ उहाँलाई सहयोग गरेर अगाडि बढ्न तयार छु।’,भुसालले भनिन्।
नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले भुसालको सम्मानमा आयोजना गरेको कार्यक्रममा नेतृ भुसालले गठबन्धनले सिटको बाँडफाँटको अन्तिम टुंगो लगाउने बताइन्।