
काठमाडौँ – उपत्यका ट्राफिक प्रहरी कार्यालयले भदौ १५ गते एक निर्णय सार्वजनिक गर्दै मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्न रोक लगायो।
राइड सेयरिङ एप कम्पनीहरुलाई पत्र लेख्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्यस्ता स्ट्यान्ड हटाउन निर्देशन दिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टका अनुसार मोटरसाइकल र स्कुटरमा मोबाइल होल्डर राखे २० हजारसम्म जरिवाना हुनेछ।
दुई पाङ्ग्रे सवारीसाधनमा मोबाइल राख्दा चालकको ध्यान भड्किएर दुर्घटनाको सम्भावना धेरै हुने भएकाले यसलाई अभियानकै रूपमा सुरु गर्न लागिएको उनले बताएका छन्। साथै यस्ता स्ट्यान्डले बाइक मोडिफिकेसन भएको ठहर गर्दै ट्राफिकले प्रयोगमा रोक लगाएको हो।
हिजोआज काठमाडौँका जुनसुकै स्थानमा सस्तोमा र सजिलै पुग्ने माध्यम हो– राइड सेयरिङ एप। केही समयअघिसम्म महँगो मूल्य तिरेर ट्याक्सी चढ्नेहरु हिजोआज पठाओ, टुटल, साहारा, इन्ड्राइभलगायतका राइड सेयरिङ एप प्रयोग गर्ने गरेका छन्। जसले गर्दा जोकोही व्यक्ति आफ्नो गन्तव्यमा सस्तोमा सजिलै पुग्न सहज भएको प्रयोगकर्ताहरुले बताउँदै आएका छन्। तर, ‘मोबाइल स्ट्यान्ड’ राख्न नपाइने नियमले भने आफूहरुलाई समस्या भएको राइडरहरुको भनाइ छ।
के भन्छन् राइडर?
दाङ घर भइ हाल पढाइको शिलशिलामा काठमाडौँ बस्दै आएका २६ वर्षीय राइडर यो नियम लागू भएपछि आफूहरु मारमा परेको बताउँछन्।
‘मोबाइल स्ट्यान्ड राख्न नदिने निर्णयले हामी राइडरहरुलाई धेरै नै समस्या भएको छ। ग्राहकहरुले भनेको ठाउँमा समयमै पुर्याइदिनुपर्ने हुन्छ। हामीलाई सबै ठाउँ थाहा हुँदैन, त्यसैले धेरै गाह्रो भएको छ,’ उनी भन्छन्, ‘यो सर्वसाधरणलाई दुःख मात्रै दिने निर्णय हो। मोबाइल स्ट्याण्ड राख्दैमा बाइकको मोडिफिकेशस हुन्छ भन्ने कुरा म मान्दिनँ।’
त्यस्तै, काठमाडौँ बौद्ध घर भएका २९ वर्षीय अर्का राइडर पनि मोबाइल स्ट्याण्ड नहुँदा समस्या भएको बताउँछन्।
‘मोबाइल स्ट्याण्ड नै राख्न नदिएपछि हामीले लोकेशन कसरी हेर्नु? ग्राहकहरुलाई भनेको ठाउँसम्म कसरी पुर्याइदिनु?,’ निर्णयप्रति आक्रोशित हुँदै उनी भन्छन्, ‘हामीलाई पनि सबै स्थान थाहा हुँदैन, जो जानुपर्ने हो उहाँहरुलाई पनि थाहा हुँदैन। त्यो अवस्थामा त म्याप हेर्नै पर्यो नि ! नभए कसरी पुग्न सकिन्छ र अनि मोबाइल स्ट्याण्ड नै राख्न नदिने त्यो त अति नै भयो।’
त्यस्तै २४ वर्षीय अर्का एक राइडर पनि मोबाइल स्ट्याण्ड नहुँदा समस्या भएको बताउँछन्।
‘हामीले ग्राहकहरुलाई गन्तव्यसम्म त पुर्याउनु पर्यो नि! कसरी पुर्याउने लोकेशन नै थाहा नभएपछि,’ उनी भन्छन्, ‘यो त काम चाहिँ गर तर यो पनि होइन, त्यो पनि होइन भनेको जस्तै भयो। काम गरेर खान पनि समस्या छ हाम्रो देशमा।’
राइड सेयरिङ एपहरुका कारण यात्रामा सहज हुन थालेको प्रयोगकर्ताहरुले बताउँदै आइरहेका बेला मोबाइल स्ट्याण्ट राख्न नदिने निर्णय मान्य नहुने राइडरहरुको भनाइ छ।
ट्राफिक प्रहरीले भने राइड सेयरिङ एपहरुलाई मात्रै नभइ आम सर्वसाधरण सबैका लागि यो नियम लागु गरेको बताएको छ। यद्यपि, यो नियमबाट राइड सेयरिङ एपहरु नै धेरै प्रभावित भएको देख्न सकिन्छ।
पहिलो चरणमा सम्झाइबुझाइ छाड्दै प्रहरी
ट्राफिक प्रहरीले भने मोटरसाइकल, स्कुटरलगायतका दुई पाङग्रे सवारीसाधनमा मोबाइल स्ट्याण्ड राख्नेहरुलाइ पहिलो चरणमा सम्झाइबुझाइ छाड्ने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी भट्टले बताएका छन्।
‘हामीले पहिलो चरणका रुपमा सम्झाइबुझाइ मोबाइल स्ट्याण्ड नराख्नु सुझाउँदै आएका छौँ। यो नियम सबैका लागि हो। राइडर सेयरिङ एपहरुलाई मात्र लक्षित गरेका होइनौँ,’ उनी भन्छन्, ‘अटेर गरे जरिवाना गरिने कुरा सम्झाएर छाड्ने गरेका छौँ। कम्पनीबाट बनेर आएको सवारीसाधनमा कुनै पनि सामाग्री थपघट गर्न पाइँदैन, त्यो ‘मोडिफाइ’ नै हुन्छ।’
अहिले लापरबाही कसुरमा ५००/१००० मात्र जरिवाना लिने गरेको र सवारीचालकले अझै पनि अटेरी गरे स्वरुप परिर्वतन कसुरमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने भट्टले बताएका छन्।
नियम लागु भएसँगै पठाओ, एनड्राइभ, टुटललगायतका राइड सेयरिङ एपका राइडरहरुले साथै आम सर्वसाधरणले समेत मोबाइल स्ट्याण्डको प्रयोग नभएको देख्न सकिन्छ।