
पुरुष राष्ट्रिय फुटबल टिमको लागि दशरथ रगंशाला फुटबलको पर्याय हो। तर, नेपाली राष्ट्रिय महिला टिमका लागि भने यो राष्ट्रिय रंगशाला बिरानो लाग्छ।
अहिलेसम्म राष्ट्रिय महिला टिमले केवल २ पटक मात्रै दशरथ रंगशालामा प्रतिस्पर्धा गरेको छ। त्यो पनि मैत्रीपूर्ण खेलमा पाहुना टोलीका लागिजस्तै आफ्नै घरेलु मैदान भए पनि नेपाली राष्ट्रिय महिला टिमलाई आफ्नै मैदानमा बिरानो छ। तर, दर्शक र दशरथ रंगशालाको घरेलु साथले भने महिला टिम उत्साहित छ।
यसअघि नेपाली राष्ट्रिय महिला टिमले तत्कालीन प्रशिक्षक ग्यारी फिलिप्सको प्रशिक्षणमा दशरथ रंगशालामा बंगलादेशसँग २ खेल खेलेको थियो। पहिलो पटक राष्ट्रिय महिला टिमले पाएका यिनै विदेशी प्रशिक्षकले उक्त रंगशालामा महिला टिमलाई एक वर्षअघि परिचित गराउँदा नेपाल बंगलादेशसँग पहिलो खेलमा २-१ ले विजयी रह्यो भने अर्को खेल गोलरहित बराबरीमा सकिएको थियो।
२०२१ को १८ र २१ सेप्टम्बरमा भएको खेलपछि नेपाली महिला टिम दोस्रो पटक दशरथ रंगशाला प्रवेश गर्ने छ। तर, यो पटकको उसकाे मैदान यात्रा फरक छ। किनकि साफको विरासतमा आफ्नो चर्चित रंगशालामा उपाधि प्यास मेटाउने चुनौती रहँदा अर्कोतर्फ लगातारको भारतसँगको हारको श्रृंखलाको अन्त गर्दै महिला टिममा नयाँ उत्साह भर्नु पर्ने छ। त्यसैले महिला टिमका लागि दशरथ रंगशाला जति बिरानो छ त्यति नै आत्मीय बनाउनु पर्ने चुनौती पनि नेपाली महिला टिमलाई नै छ।
थापालाई जुरेको संयोग
कुमार थापा अहिले नेपाली महिला फुटबल टिमको प्रशिक्षक छन्। उनी दोस्रो पटक महिला टिम सम्हाल्दै गर्दा जीवनको दोस्रो संयोगलाई जीवन्त बनाउने ध्याउन्नमा हुने छन्।
उनीमात्र महिला टिम समाल्ने यस्ता प्रशिक्षक हुन् जसले आफ्नो टोलीलाई फाइनलसम्म पुर्याउन सकेका थिएनन्। अर्थात् महिला फुटबल टिमले खेलेका कुल ५ साफमा ४ साफमा फाइनलमा पुग्दा थापा मात्र एक अभागी प्रशिक्षक हुन् जसले सेमिफाइनलबाटै घर फर्किनु पर्याे।
अर्थात् उनको करिअरको खराब दागलाई हटाउने सुन्दर मौका थापालाई रहेको छ। २०१६ को डिसेम्बरमा भारतमा भएको चौथो साफमा नेपाल सेमिफाइनलबाट बाहिरिँदा भारत प्रतिद्वन्द्वी थियो। अर्थात् अन्य समयमा फाइनलमा भेट हुने भारत थापाका लागि भने सेमिफाइनलमा नै प्रतिस्पर्धी बन्यो अनि फाइनलविहीन हुँदै घर फर्कियो।
नेपालले सेमिफाइनलमा भारतसँग ३-१ को हार बेहाेरेकाे थियो। पहिलो खेलमा भुटानलाई ८-० ले हराएको नेपालले समूह चरणको दोस्रो खेलमा माल्दिभ्सलाई ९-० ले पराजित गरेको थियो।
तेस्रो खेलमा श्रीलंकालाई १-० ले हराएर सेमिफाइनल पुगेको नेपाल भारतसँग पराजित हुन पुग्यो। त्यही बेला पहिलो पटक बंगलादेशले फाइनलमा स्थान बनायो। तर, भारतको च्याम्पियन यात्रालाई भने रोक्न सकेन।
अब ६ वर्षपछि प्रशिक्षक थापालाई घरेलु मैदानमा भारतसँग सेमिफाइनलमा भोगेको हारको बदलामात्र होइन उपाधिविहीन यात्राको अन्त गर्नुपर्ने चुनौती पनि रहेको छ।
विराटनगर भुलाउने काठमाडौँलाई मौका
साफ च्याम्पियनसिपको इतिहासमा दोस्रो पटक नेपाल आयोजकका रूपमा रहँदा यसअघि विराटनगर पहिलो पटक ठूलो अन्तर्राष्ट्रिय इभेन्टको आयोजक बन्ने अवसर पाएको थियो।
हरि खड्का प्रशिक्षक रहेको उक्त साफमा पनि नेपालले आफ्नो रवाफिलो पारा समूह चरणसम्म कायम राख्यो। अझ भारतविरुद्ध साफमा दोस्रोपटक नेपालले फाइनलमा गोल गर्यो।
सावित्रा भण्डारीले पहिलो हाफमा भारतको अग्रता बराबरी गर्दै गोल गरेकी थिइन। तर, नेपाल उक्त फाइनलमा ३-१ ले नै पराजित हुन पुग्यो। अब विराटनगरमा गुमाएको फाइनल काठमाडौँमा राख्ने सुन्दर मौका नेपालसामु रहेको छ।
नेपालले खेलेका फाइनल
साफ च्याम्पियनसिपका पाँच संस्करण सकिँदा नेपाल ४ पटक फाइनल पुगेको छ। भारत भने पाँचाैँ पटकमात्र फाइनल पुगेको छैन, उसले सबै संस्करणको उपाधि जित्न समेत सफल भएको छ।
त्यसैले महिला साफको दक्षिण एसियाली संस्करण अन्य देशका लागि उपविजेताको होडजस्तो मात्रै देखिँदा साफको फाइनलमा भारतको विरासत तोड्ने टिमको खोजी पनि उही रफ्तारमा छ।
विडम्बना फुटबलमा देखिएको स्तरको खाडल भारत र अन्यत्र झन् बढ्दो छ। दोस्रो साफको समयमा नेपाली टिम सम्हालेका प्रशिक्षक किशोर केसी भन्छन्, ‘भारत अहिले आफूलाई विश्वकप खेल्ने स्तरमा स्तरोन्नतिमा लागेको छ। उसले संरचनागत रूपमा नै बलियो जग बसाइसकेकाले अब दक्षिण एसियामा भारतको चुनौती झन-झन चुनौतीपूर्ण हुँदै जाने छ।’