
काठमाडौँ- नेवार समुदायको भाषा संस्कृतिमाथि आँच पुर्याएको अभियोगमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरी परिसर काठमाडौंले अनुमति पाएको छ ।
जिल्ला अदालत, काठमाडौंले सिंहविरुद्ध अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राखेर अनुसन्भान गर्न अनुमति पाएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपि दिनेशराज मैनालीले बताएका छन्।
उनका अनुसार सिंहलाई पाँचै दिन हिरासतमा राखिने भने छैन।
अदालतमा जाने दफामा आएको जाहेरीसहित विभिन्न चारवटा मुद्दा भएकाले अनुसन्धानमा समय लागेको मैनालीले बताएका छन्।
बिहीबार सिंहको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाउने तयारी भइरहेको उनले बताएका छन्।
नेवार जातीको कला, संस्कृति, लजवलाई लिएर अपमानजनक रुपमा व्यंग्य गरेको भन्दै सिंहलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो।
केही समयअघि सिंहले युट्युब च्यानल कमेडी क्याफेमा राखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यंग्य गरिएको थियो। सोही विषयलाई लिएर नेवार समुदायका व्यक्तिहरूले उजुरी दिएपछि सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सिंहले भने माफी माग्दै युट्युबबाट सो भिडियो हटाइसकेका छन्। उनले कसैमाथि अपमान गर्ने उद्देश्य नभएर रमाइलोका लागि मात्रै व्यंग्य गरेको प्रतिक्रिया दिदै आएका छन्।
यसअघि अपूर्वका परिवार र नेवाः समुदायका अभियन्ताबीच छलफल भएर क्षमापत्र लेखाएर उनलाई छुटाउने प्रक्रिया अघि बढाउने सहमति भएको थियो।