
काठमाडाैँ – नेपाल क्रिकेट संघ ‘क्यान’ले सन्दीप लामिछानेलाई सम्पर्क गर्दै उनीमाथि लागेको बलात्कारको आरोपको विषयमा जानकारी दिएको छ।
क्यानका कार्यवाहक महासचिव प्रशान्त मल्लले सन्दीपसँग क्यानले सम्पर्क गरेको बताए।
उनले भने ‘हामीले आफैँ सन्दीपसँग सम्पर्क गरेका छौँ। उसलाई परेको उजुरी र भइरहेको घटनाक्रमका बारेमा जानकारी गराएका छौँ। उसले आफूमाथि लागेको आरोपमा सत्यता नभएको बताएको छ।’
कुराकानीका क्रममा सन्दीपले आफूमाथि लागेको आरोपको कानुनी प्रतिवाद गर्ने जानकारी दिएको मल्लले बताए।
‘सन्दीपले आफूमाथि लागेको आरोप अस्वीकार गर्याे। उसले आरोप लागिसकेपछि फेस गर्नुपर्ने भन्दै कानुनी सल्लाहकार खोजी दिन आग्रह गरेको छ’, उनले भने।
मल्लले सन्दीपले सिपिएलपछि मात्रै स्वदेश फर्किने बताएको जानकारी दिए।
उनले भने ‘उसले क्यारेबियन प्रिमियर लिग खेलिसकेपछि स्वदेश फर्किन्छु भनेको छ।’
क्यानले बीचमा प्रहरीले सन्दीपलाई झिकाउन आग्रह गरेको खण्डमा उनलाई नेपाल बोलाउने तयारी गरेको छ।
मल्लले भने ‘अहिले ऊ खेलमा व्यस्त छ। त्यसैले प्रहरीले आवश्यक परेको खण्डमा र क्यानलाई बोलाउन आग्रह गरेको खण्डमा हामी उसलाई बोलाउन सक्छौँ।’
सन्दीपले आवश्यक परे नेपाल आउने जानकारी दिएको पनि मल्लले जानकरी दिए।
सन्दीपको मुड कस्तो थियो? भन्ने प्रश्नमा मल्ल भन्छन् ‘उसले शान्त तरिकाले कुरा गर्याे। सामान्य कुराकानी हुँदा उसमा कुनै हिनता या अरू कुराहरू थिएनन्। पहिलाजस्तै कुल भएर कुरा गरेको थियो।’
पछिल्लो समय सन्दीप लामिछाने केन्याविरुद्धकाे टी-२० सिरिजपछि क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिजमा रहेका छन्।
जमैका तालबजमा आवद्व रहेका सन्दीप बिहीबारको खेलमा भने टिममा पर्न सकेनन्। पहिलो खेलमा उनको टोली सेन्ट लुसिया किंग्ससँग २ विकेटले पराजित हुन पुगेको थियो।
जमैकाले सन्दीपलाई बेञ्चमा नै राखेको थियो। जमैकाले पहिलो ब्याटिङ गर्दै १ सय ६४ रन बनाएको थियो। जवहाफमा लुसियाले ८ विकेट गुमाएर १ बल बाँकी हुँदा लक्ष्य पुरा गरेको थियो। सन्दीप जमैका तालाबाजमा दोस्रो पटक आबद्व भएका हुन्।