ऐनाझ्यालको पुतली- स्मृतिको सुन्दर कोलाज

ऐनाझ्यालको पुतली- स्मृतिको सुन्दर कोलाज
+
-

उन्नाइसौँ शताब्दीको सुरुतिर फ्रेन्च दार्शनिक भिक्टर कोसिनले `कलाको लागि कला’ अभियान सुरु गर्दा उनले फ्रेडरिक नित्से र केही मार्क्सिस्ट र सोसलिस्ट दार्शनिकको सर्वकालीन आलोचनाको सिकार हुनु परेको सन्दर्भमा सुजित बिडारीद्वारा लिखित तथा निर्देशित ‘ऐना झ्यालको पुतली’ एक कलात्मक स्वरूप मात्र हो भन्ने कुरामा मेरो पनि सहमति रहन सकेन। यस अभियानले कलालाई विशुद्ध सुन्दरता र कलात्मकतासँग जोडेर व्याख्या गर्छ। यसलाई कुनै राजनीतिक, सामाजिक र शिक्षाप्रद वा उपदेशक रूपमा व्याख्या गरिनु हुँदैन भन्छ। तर कलाको उपयोगिता हुन्छ र हुनुपर्छ। हाम्रो जस्तो समाजमा कलाले समाज परिवर्तनको जिम्मेवारी बहन गर्नुपर्छ। चाहे त्यो ल्याङस्टन ह्युजको “हर्लेम” र देवकोटाको “पागल” कविता होस वा मार्टिन लुथर किङ जुनियरको भाषण “आइ ह्याव अ ड्रिम”, चाहे भिन्चीको ” द लास्ट सपर” होस् या वाङ जुन हो को सिनेमा  “प्यारासाइट”, कलाले कुनै न कुनै माध्यम बाट मानसिक र सामाजिक क्रान्ति सम्भव गरेको हुन्छ। यदि कलाले समाज परिवर्तन गर्ने क्षमता राख्छ भने हाल नेपाली सिनेमा घरहरूमा प्रदर्शन भइरहेको बिडारी द्वारा निर्देशित सिनेमा “ऐना झ्यालको पुतली” त्यसको लागि पर्याप्त छ।

मेरो लागि “ऐना झ्यालको पुतली” नेपाली समाजको कुरूप बिम्ब, पिडा अभिव्यक्त गर्ने माध्यम र आफ्नै जीवनको बाल स्मृतिको कोलाज हो। सिनेमा हेरिरहँदा निर्देशकले मेरो स्मृति र भावनामाथि यसरी नियन्त्रण गरी दिए कि म आफूलाई त्यस क्यानभासबाट अलग गर्न आजसम्म सङ्घर्षरत छु। सिनेमामा प्रस्तुत गरेको समय र स्थानको सान्दर्भिकताले मलाई गज्जबसँग जकडेर राख्यो, हलचल हुन दिएन र नोस्टाल्जिक बनायो। म भावुक भएँ र भुर्ररर उडेर लगभग ३० वर्ष अगाडि पुगेँ। समयको गतिसँगै भागदौडमा अल्मलिएको जीवन अचानक विगतमा गएर टक्क अडियो। यदि अरूलाई पनि त्यस्तै भएको छ भने यो सिनेमाले दुर्लभ रूपमा प्राप्त गर्ने सफलता हो। धेरै नेपाली सिनेमा बने, बनिरहेका छन् र पछि पनि बन्नेछन् तर “ऐना झ्यालको पुतली” नेपाली सिनेमा क्षेत्रको सफल र सुन्दर चलचित्र बन्ने कुरामा दुबिधा छैन।

सिनेमाको सबैभन्दा मजबुत पक्ष त्यसको निर्देशकीय कला हो। नेपाली सिनेमाले चुनौतीको रूपमा भोग्दै आएको कथालाई पर्दामा उतार्न सक्ने क्षमतामाथि निर्देशक बिडारीले सफलता प्राप्त गरेका छन्। सा-साना तर महत्त्वपूर्ण विषयवस्तु हरूको कथन सुन्दरतापूर्वक गरिएको छ। सिनेमाले मौलिक दृश्य भाषाको निर्माण गरेको छ। एउटा सानो पहाडको गाउँमा सुरु भएको सिनेमाको लेन्स त्यही गाउँकै वरिपरि घुमिरहन्छ।

गाउँले परिवेश र गाउँले पात्रहरूले सिनेमालाई जीवन्तता प्रदान गरेका छन्। सिनेमाको अर्को मजबुत पक्ष पात्र निर्माण हो। सिनेमाका चार प्रमुख पात्रहरू सशक्त छन्। पात्र निर्माणको सन्दर्भमा भन्ने गरिन्छ यदि पात्र असल छ भने त्यो पूर्ण रूपमा असल  हुनुपर्छ र खराब छ भने पनि पूर्ण रूपमा खराब हुनुपर्छ। बिडारीले असल र खराब दुवै पात्रहरूलाई न्याय गरेका छन्। सानो भाइ (दिनेश खत्री) को भूमिकामा रहेको पात्रको खराबबाट असल चरित्रको रूपान्तरण पनि बडो सुन्दर रूपमा प्रस्तुत गरिएको छ। दिदी (कन्चन चिमरिया) चलचित्रभरि सहानुभूति प्राप्त गरिरहने ससक्त पात्र हुन। उनको सङ्घर्ष र पढ्ने इच्छाको वरिपरि सिनेमा घुमिरहन्छ। सिनेमाको मूल भाव पनि त्यही अपूर्ण इच्छा हो। अझ भनौँ कसरी एक युवतीको पढाइको सपनालाई परिवार र समाजले निषेध गरेको छ भन्ने नै हो। यो सामान्य इच्छा बिस्तारै महत्त्वाकाङ्क्षामा परिणत हुन्छ र उनको सपनाको हत्या गरिन्छ।

सिनेमाले आवरणमा देखिएको सुन्दर तर यथार्थमा रहेको समाजको कुरूप अनुहारमा मजबुत झापड बजारेको छ। आमा (चिरू विष्ट) छोरीको पढ्ने सपना पूरा गर्न र आफूले भोगेको जीवन छोरीले भोग्नु नपरोस् भनेर दिन रात परिश्रम गर्छिन् तर उनको सङ्घर्षले अन्त्यमा कुनै सकारात्मक परिवर्तन ल्याउन सक्दैन। सिनेमाको खराब पात्र बुबा (अशोक सिवाकोटी) निर्दयी र अनैतिक छ। विदेशबाट लामो समयपछि फर्कन्छ तर पैसा कमाएर परिवारलाई सहयोग गर्दैन। रक्सी खाएर रेडियो सुन्दै दिनभर घरमै बसिरहन्छ। छोरीलाई पढाउन श्रीमतीले दुख गरेर जोडेको पैसा चोरेर रक्सी खान्छ। यी सबै पात्र हाम्रा समाजका प्रतिनिधि पात्रहरू हुन, हाम्रै वरिपरि पाइने। त्यसैले हामी हरेक पात्रसँग सामीप्य महसुस गर्न सक्छौँ।

सिनेमाले प्रस्तुत गरेको दिदी भाइबीचको सन्तुलित सम्बन्धले धेरैलाई सिनेमासँग आफ्नो सम्बन्ध स्थापित गरिदिन्छ। कसैले आफूलाई दिदीमा पाउँछन् त कसैले भाइमा। हरेक दर्शकहरूले आफ्नो र पात्रहरूबीचको प्रासङ्गिकता मेल नखाए पनि कथा र घटनाक्रमसँग बाँधेर राख्न सक्नु निर्देशकको विशिष्ट कला हो। आमाले दिदीलाई माया गर्दा भाइले देखाएको रिस, भाइलाई दिदीले जानिजानी चिढ्याउन गरेका हर्कत सिनेमाका लोभलाग्दा दृश्यहरू हुन। पात्रहरूको मनोविज्ञान र सामाजिक मनोदशा देखाउन सिनेमाले कुनै कसर बाँकी छोडेको छैन। परिवारमा सुख र शान्ति नभएपछि सहर जाने रहर बोकेको बाल कलाकार बाङ्गे (उमेश श्रेष्ठ) ले एउटा विशाल वाल मनोविज्ञानको प्रतिनिधित्व गर्छ।

सिनेमाको क्लाइमेक्स थोरै कमजोर लाग्छ। सिनेमाभरि छोरीको पढाइका लागि सङ्घर्षरत आमा अन्त्यमा छोरीको पढ्ने इच्छाको हत्या हुँदा चिन्तित देखिन्नन् अथवा विद्रोह गर्न सक्दिनन्। छोरी पढाउने दृढ सङकल्प लिएर पूरै सिनेमाको भवलाई नाम्लो लगाएर बोकेकी आमाको त्यो स्वीकारोक्ति खल्लो छ। निर्देशकले सायद नेपाली महिलाहरूको पारिवारिक हैसियत वा निर्णायक क्षमता देखाउन खोजेको हुन सक्छ। बाल कलाकार दिनेश खत्रीले दिदीको कविता प्रतिको मोह र पढ्ने चाहनाको भावलाई सम्मान गरेर अन्त्यमा दिदीको कविता छापिएको मुना पत्रिका प्राप्त गर्न गरेको सङ्घर्ष ह्रृदय विदारक छ। सबै पात्रले सशक्त अभिनय गरेका छन्।

केही प्रयोगात्मक सटहरुलाई बिर्सिदिने हो भने अमर महर्जनको सिनेम्याटोग्राफी उत्कृष्ट छ। दुई युवतीलाई क्यामेराले ढाडबाट पच्छ्याइरहेको दृश्य र खोला तर्दा क्यामेराले खुट्टा पच्छाएका दृश्य व्यावसायिक सिनेमा हेर्न बानी परेका दर्शकलाई अनौठो लाग्न सक्छ तर ती अर्थपूर्ण छन्। क्लोज सट र वाइड सटको पनि सिनेमामा अर्थपूर्ण प्रयोग देख्न सकिन्छ। सामाजिक सङ्कुचन देखाउन क्लोज सटहरु र आकाश जस्तै विशाल सपनाहरू देखाउन वाइड सटहरुले सिनेमामा सुन्दरता थपेको छ। सिनेमालाई अर्थपूर्ण बनाउन क्यामेरा पछाडिका प्राविधिकहरूले सहजता र कोमलता प्रदान गरेका छन्। किरण श्रेष्ठको सम्पादन गज्जबको छ। सट, सिन, सिक्वेन्स र ड्रामाटिक सिक्वेन्सलाई यति राम्रोसँग समीकरण मिलाइएको छ कि दर्शकले कतै आफूलाई दिग्भ्रमित पार्नै पाउँदैनन्। सिनेमाका दृश्यहरूले दर्शकलाई बाँधेर राख्छ।

सबै हिसाबले सशक्त र निक्कै समयको अन्तरालमा बन्ने यस्ता राम्रा सिनेमालाई माया गर्नु र व्यावसायिक रूपमा पनि सफल बनाई निर्माताहरूलाई पनि थप ऊर्जा र  प्रोत्साहन  प्रदान गर्नु दर्शकहरूको जिम्मेवारी हो। नेपाली सिनेमाको कोशे ढुङ्गा साबित हुन सक्ने सम्भावना बोकेको “ऐना झ्यालको पुतली” भविष्यसम्म पनि नेपाली सिनेमाको बहसमा रहिरहने पक्का छ। नेपाली सिनेमालाई माया गर्ने, सिनेमाका विद्यार्थी र मौलिक सिनेमा को खोजी गरी रहेका दर्शकले हेर्नै पर्ने सिनेमा हो यो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?