काठमाडाैँ – महिला साफ र सेमिफाइनल भन्नेबित्तिकै कुमार थपालाई २०१६ को महिला साफ सम्झनामा आइहाल्छ। नआओस् पनि किन? किनकि उनी मात्र यस्तो एक्ला प्रशिक्षक हुन्, जसले महिला टिमलाई फाइनलमा पुर्याउन सकेनन्।
अर्थात् महिला साफमा चौथो संस्करण बाहेक बाँकी सबै साफमा नेपाल एकपटक फाइनल नपुगेको २०१६ को सिलिगुडी साफका दौरान नै हो। अनि महिला टिम पहिलो पटक सेमिफाइनलबाट बाहिरिएको पनि त्यही साफ हो। तर, नियति भने अन्य प्रशिक्षकको जस्तै रह्यो थापाको अर्थात् हारको विपक्षी भने सधैँको उपाधि विजेता भारत नै थियो।
साफ च्याम्पियनसिपको त्यो हारको ६ वर्षपछि थापा फेरि उही स्थानमा छन्। अनि थापासँग भारतविरुद्धको हारको बदला जहाँ पराजित भएका थिए त्यहीँबाट लिने मौका छ। अन्यथा फेरि एकपटक थापा त्यस्तो प्रशिक्षक बन्ने छन् जसले सेमिफाइनलको जिंक तोड्न नै निरन्तर असफल बन्नुपर्ने छ। त्यसैले थापा भन्छन्, ‘विगत सम्झिएर वर्तमानको तुलना गर्न मिल्दैन। हामी वर्तमानमानमा नतिजा आफ्नो पक्षमा पार्न भरपुर प्रयास गर्नेछौँ।
त्यसो त भारतविरुद्धको खेल भनेर थापासँग फरक रणनीति केही छैन। उनलाई टिमलाई बढी चलाएमा भएको फर्मेसन नि बिग्रिएला भन्ने पीर छ। उनी भन्छन्, ‘हामीसँग थौरै अप्सन छ, त्यसैले रणनीति परिवर्तन गर्ने होइन, यही रणनीतिअनुसार नै भारतलाई पराजित गर्ने लक्ष्यमा रहेका छौँ।
६ वर्षअघि भएको सेमिफाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको थियो। उक्त समयमा नेपालका लागि सावित्रा भण्डारीले एक मात्र गोल गरेकी थिइन्। तर, भारतले नेपाललाई पराजित गर्दै बंगलादेशविरुद्धको फाइनल यात्रा तय गरेको थियो।
फाइनलमा बंगलादेशलाई हराएर लगातार चौथो पटक भारतले साफ जितेको थियो। त्यसअघिका तीन फाइनल भिडन्तमा पनि नेपाल लगातार पराजित भएको थियो। तत्कालिन साफबारे थापा भन्छन्, ‘हामी राम्रो लयमा नै थियौँ, प्रतिस्पर्धा राम्रो भएको मान्छु तर हामीले केही गल्ती गर्दा पराजित हुन पुग्यौँ। तर, अब हामीलाई सो गल्ती गर्ने छुट छैन।’
प्रशिक्षक थापासँग आफ्नो कार्यकालमा १० खेलाडीलाई राष्ट्रिय टिममा डेब्यु गराएको मिठो अनुभव छ। २०१६ मा ६ खेलाडीलाई डेब्यु गराएका थापाले अहिले ४ खेलाडीलाई डेब्यु गराएका छन्। डेब्यु खेलाडिले पनि थापालाई हौसला दिने प्रदर्शन गरेका छन्। भुटानविरुद्धको खेलमा समीक्षा घिमिरे, दीपा शाही र स्ट्राइकर अमिशा कार्कीले डेब्यु गरे। दीपाले डेब्युमा गोल गरिन्।
उनीसँगै रश्मि र अमिशा तथा डिफेन्डर अमृता जैशीले पनि पहिलो अन्तराष्ट्रिय गोल गरे। निशा थोकर डेब्यु गर्ने कान्छी खेलाडीका रुपमा रहेकी छन्। समूह चरणमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वीको सामना गरेको नेपाल सेमिफाइनलमा भारतविरुद्ध मैदान उत्रिँदा अघिल्ला तमाम मानकहरु भत्काउने चुनौती एकातिर रहँदा पहिलो पटक दशरथ रंगशालामा घरेलु दर्शकको फाइदा उठाउने चुनौती नेपाललाई रहेको छ।
भारतका प्रशिक्षक सुरेनकुमार क्षेत्री नेपालविरुद्ध भारतलाई सहज नहुने बताउँछन्। उनी भन्छन्, ‘घरेलु दर्शक र मैदानको फाइदा स्वभाविक रुपमा नेपाललाई छ। उनले सेमिफाइनल जुनसुके टिमविरुद्ध पनि गाह्रो हुने र अझ घरेलु टिमविरुद्ध झनै कठिन हुने बताए। तर, उनले भारतले आफ्नो नियमित खेल खेल्ने भन्दै फाइनलमा पुग्ने लक्ष्यमा टिम रहेको बताए।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































