
काठमाडौँ – नेपाल टेलिकमले शुक्रबारदेखि ई-सिम वितरण सुरु गरेकाे छ। ई-सिम सपोर्ट गर्ने मोबाइल भएका ग्राहकका लागि शुक्रबारदेखि निःशुल्क रूपमा वितरण थालिएको टेलिकमले जनाएको हो।
टेलिकमको सुन्धारा काउन्टरबाट शुक्रबार बिहानदेखि ई-सिम वितरण थालिएको हो। पोस्टपेड र प्रिपेडका ग्राहकले हाल प्रयोग गरिरहेको सिमलाई निःशुल्क रूपमा ई-सिममा परिणत गर्न सक्ने जनाइएको छ।
तर, पोस्टपेडको नयाँ सिम लिन चाहनेले भने हाल कायम रहकै मूल्यमा ई-सिम किन्न पाउने छन्। प्रिपेडका लागि हाल नयाँ ग्राहकलाई ई-सिम उपलब्ध छैन, तर निकट भविष्यमा नै उपलब्ध गराइने टेलिकमले विज्ञप्ति मार्फत जानकारी गराएको छ।
के हो ई-सिम?
यो एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। यो सिम उपलब्ध भएपछि अहिलेको जस्तै भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता नपर्ने टेलिकमको भनाइ छ। ई-सिमबाट फोन गर्ने र इन्टरनेट डाटा चलाउनेसहितका सेवा लिन सकिन्छ।
ई-सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नु पर्ने आवश्यकता हुँदैन। मोबाइल सेटसँगै ई-सिमलाई अरू डिभाइस तथा स्मार्ट वाचसहितमा प्रयोग गर्न सकिने छ।