काठमाडौँ- घरेलु मैदानमा हजारौं दर्शकमाझ पहिलो हाफको अन्तिम मिनेटमा जब रश्मीकुमारी घिसिङले पहिलो गोल गरिन्, खुसीले रंगशाला जुरुक्कै उठेको थियो। यो नेपाली महिला टिमले १२ वर्षपछि दिएको खुसी थियो। अर्थात भारतविरुद्व साफ च्याम्पियनसिपमा नेपालले १२ वर्षपछि ऐतिहासिक गोल गर्दै जित निकालेको थियो।
घरेलु मैदानमा घरेलु समर्थकको खास अर्थ हुन्छ। हरेक मुभमेन्टमा टोलीलाई दिने समर्थनले भरिने ऊर्जा नेपाली खेलाडीले प्राप्त गरे। किनकि नेपाल आफ्नो स्टार स्ट्राइकर सावित्रा भण्डारीबिना मैदानमा थियो। तर उनको अभाव नेपाली टिमले महसुस गर्न दिएन।

वर्षाका कारण हिलाम्य बनेको मैदानमा प्रतिस्पर्धात्मक सेमिफाइनलको रोमाञ्चकताले नै नेपाल र भारतबीचको यो खेलको प्रतीक्षाको महत्व देखाएको थियो। पहिलो हाफको अग्रतालाई नेपाली महिला टिमले दोस्रो हाफमा पनि कायम राखे। अब नेपालले फाइनल ‘जिंक्स’ तोड्नुपर्ने चुनौती छ, त्यो पनि फाइनलको नयाँ प्रतिद्वन्दी बंगलादेशविरुद्वको खेलबाट।
जारी प्रतियोगितामा नै सर्वाधिक राम्रो लयमा देखिएको बंगलादेश विरुद्वको फाइनलभन्दा अघि भारतलाई पराजित गर्दाको उत्साह नेपाली महिला टिमले जितपछि साटेको खुसीबाट पनि प्रस्ट हुन्छ।
नेपाल भारतलाई हराउन आतुर थियो। अघिल्ला वर्षहरुमा साफमा भारतको एकछत्र राजको अन्त गरेको त छ नै, साथमा नेपाल र बंगलादेश दुबैले इतिहास पनि रचेका छन्। अब साफ च्याम्पियनसिपमा भारतमाथि पहिलो पटक जितको नयाँ कीर्तिमान लेखिँदै गर्दा पहिलोपटक साफले नयाँ विजेता पाउने पक्का भएको छ।
साथमा नेपालले भारतसम्मान पाँचौपटक फाइनल यात्रा तय गरेको छ।

महिला फुटबलको इतिहासमा भारतको लगातार दोस्रो हार भएको छ। यसअघि समूहचरणको अन्तिम खेलमा बंगलादेशसँग पराजित भएको भारत सेमिफाइनलमा नेपालसँग पराजित भएसँगै लगातार दोस्रो पटक कुनै पनि प्रतियोगितामा हारेको यो पहिलो हो।
साथै नेपाली महिला टिमले घरेलु मैदानका रुपमा रहेको दशरथ रंगशालामा अपराजित यात्रालाई पनि कायम राखे। यसअघि बंगलादेश सँग २०२१ को सेप्टेम्बर मा दुई मैत्रीपूर्ण खेल खेलेको नेपालले पहिलो खेलमा २-१ को जित निकालेको थियो भने अर्को खेलमा गोलरहित बराबरी खेलेको थियो।
दशरथ रंगशालामा सेमिफाइनल सम्मको खेलमा नेपालले पाँचपटक प्रतिस्पर्धाको मौका पाएको छ जहाँ नेपालले अपराजित यात्रा कायम राख्न सफल भयो।
कस्तो रह्यो खेल?
खेलमा अधिकांश समय दुबै टिमले गोलका प्रयासहरु गरेका थिए। खेलमा ३० औं मिनेटमा भारतकी सन्ध्या रंगनाथनको क्रस नेपाली डिफेन्सले क्लियर गर्न नसकेको बललाई स्ट्राइकर रेनुले गरेको प्रहार गोलरक्षक अञ्जली तुम्बाप्पोले सानदार बचाउ गर्दै सुरुवाती संकट टारेकी थिइन्।
३३ औँ मिनेटमा नेपालका लागि अनिता केसीको पासलाई प्रीति राईले गरेको प्रहार क्रसबार भन्दा केही माथिबाट बाहिरिंदा नेपाल पनि अग्रता लिने अग्रसरबाट चुकेको थियो।

नेपाल र भारतबीच साफमा छैटौं पटक प्रतिस्पर्धा भइरहँदा घरेलु मैदानमा नेपाल भारत विरुद्व बदलाको लागि गोलको हतारमा देखिन्थ्यो। परिणामत: पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि रश्मीकुमारी घिसिङले सानदार गोल गर्दै टिमलाई अग्रता दिलाइन्।
उनले प्रीति राईको पासलाई डिफेन्डरहरुलाई छलाउँदै आकर्षक तरिकाले गोल गरेकी थिइन्।
दोस्रो हाफमा पनि नेपालले गोलका केही राम्रा अवसरहरु सुरुवातबाटै सिर्जना गर्यो।
४९ औँ मिनेटमा अमृता जैशीले गरेको उत्कृष्ट प्रहारलाई भारतकी गोलरक्षक अदिति चौहानले क्लियर गरेकी थिइन्। ६४ औँ मिनेटमा नेपालले अर्को राम्रो मौका खेर फालेको थियो। प्रीति राईले डिबक्सभित्रबाट भारतीय डिफेन्डरलाई छलाउँदै गरेको उत्कृष्ट प्रहार पोलभन्दा केही इन्च बाहिँरिदा नेपाल अग्रता दोब्बर बनाउने अवसरबाट बञ्चित भयो। भारतले पनि अन्तिमसम्म नेपाल विरुद्व गोल फर्काउने प्रयास गरेको थयो। तर भारतले नेपाली डिफेन्स र गोलरक्षक तोड्दै आफ्नो अपराजित इतिहास कायम राख्न भने सकेन।
तस्बिरहरु: बर्षा शाह

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































