काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको लगानीमा बनाउने बताएका छन्।
महानिर्देशक अधिकारीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि विदेशी लगानीबिना नेपाल सरकारको लगानी र नेपाली प्राविधिहरूबाट नै बनाउने बताएका हुन्।
उनले पछिल्लो समय विमानस्थल नेपाली प्राविधिक र सरकारले बनाउन नसक्ने प्रचार गलत भएको बताए। महानिर्देशक अधिकारीले निजगढ विमानस्थल विज्ञ समूहले दिएको सुझावको आधारमा सरकार र प्राधिकरण आफैँले बनाउने जिकिरसमेत गरे।
विमानस्थल बनाउन ६० प्रतिशत नेपाल सरकारले र ४० प्रतिशत प्राधिकरणले लगानी गर्ने विज्ञ समूहको समेत सुझाव रहेको उनकाे भनाइ छ।
महानिर्देशक अधिकारीले भने, ‘नेपालले निजगढ विमानस्थल बनाउन सक्दैन भनेर बाहिर धेरै प्रचारप्रसार गरिएको छ। तर, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नेपाली प्राविधिकहरूले नसक्ने विषय होइन। अन्य ठूलाठूला आयोजनाहरूमा लगेर जोडेजस्तै जोड्ने होइन। अहिले हामी के खोज्छौँ भने निजी सार्वजनिक साझेदारी बनाउनुपर्छ। नेपालीले बनाउन सक्दैनन् भन्ने विषय नै होइन। सरकारको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा समेत गरेर करिव ३० अर्ब खर्च भयो। अझै अर्को ३० अर्ब खर्च हुन्छ त्यसरी ६० अर्ब भयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खर्बौँ खर्च गरेका छौँ। अहिले पनि निर्माणको काम गरिरहेका छौँ। निजगढ विमानस्थललाई एक खर्ब २० अर्ब भनेका छौँ। लागतका हिसाबले पनि १० गुणा ठूलो होइन। यो नेपालले गर्न नसक्ने आयोजना होइन। यो विमानस्थल आफैँ बनाउन सक्छौँ।
‘विज्ञ समूहले पनि स्पष्ट मोडालिटी दिएको छ। जसमा ६० प्रतिशत नेपाल सरकारले र ४० प्रतिशत नेपाल नागरिक उड्डयन प्राधिकरण लगानी गर्नेछ। लागतका हिसाबले विमानस्थल बनाउन जङ्गल कटानदेखि अन्य निर्माणको लागि ७ वर्षको समय राख्दा पनि १ खर्ब २० अर्ब भनेको वार्षिक १७ अर्ब रुपैयाँ वार्षिक जम्मा गर्दा भयो। १७ अर्बमा १० अर्ब नेपाल सरकारले हाल्छ। ७ अर्ब प्राधिकरणले हाल्न कुनै विदेशी लगानीकर्ता नखोजी, कसैको भर नपरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सक्छौँ। तर हामीले सोचलाई परिवर्तन गरेर आत्मविश्वास बढाउनुपर्छ। यो योजना नेपाल आफैँले गर्नसक्छौँ। यो नै सरकारको प्रतिवद्धता हुनुपर्छ, हुने पनि छ’, उनले थपे।
महानिर्देशक अधिकारीले नेपालमा विकास निर्माणसम्बन्धी ऐनलाई नै संशोधन गर्नुपर्ने पनि बताए।
उनले नेपालका सबै विमानस्थलको क्षमता १ करोड यात्रुको लागि पनि नभएको उल्लेख गरे। उनले हवाई यात्रु बढ्दै गएको अवस्थामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यकता छैन भन्नु नै निरर्थक भएको जिकिरसमेत गरे।

भर्खरै
लोकप्रिय






































































































































































































