
काठमाडौँ- काठमाडौंको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ घर भएका रेहान खान, मिहरण मियाँ र सुमी भनिने सुस्मिता छिन् ।
पक्राउ परेका उनीहरुलाई आज सार्वजनिक गर्दै उनीहरु हतियार व्यवस्थापक रहेको प्रहरीले जनाएको छ ।
असोज ४ गते बेलुकी भएको हत्याको घटनामा प्रहरीले दुई जना पुरुष र एक जना महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसएसपी भरतबहादुर बाेहोराले बताएका छन्।
उनका अनुसार उनीहरु तिनै जनाले मोहम्मदको हत्याको लागि हतियार व्यवस्थापनमा सघाएका थिए । पक्राउ परेकी उक्त महिला यसअघि लागूऔषध सम्बन्धी मुद्दामा जेलसमेत बसेको प्रहरीको भनाइ छ ।
असोज ४ गते साँझ काठमाडौँको गोठाटारमा लाल मोहम्मदको हत्या भएको थियो। मोटरसाइकलमा आएका आक्रमणकारीमध्ये एक जनाले उनलाई गोली हानेका थिए।
गोली लागी गम्भीर घाइते सर्लाहीको गोडैता नगरपालिका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको थियो।
उनको हत्याबारे अनुसन्धान गर्न प्रहरीले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।
मोहम्मद गोठाटारमा गार्मेन्ट व्यवसाय गरिरहेका थिए। उनी २०६४ सालमा हत्या आरोपमा मोहम्मद पक्राउ परेका थिए। यस घटनामा संलग्न भएको आरोपमा उनी १० वर्ष जेल सजाय भोगेर पाँच वर्षअघि छुटेका थिए। प्रहरीले घट्नाबारे थप छानबिन भइरहेको बताएको छ।