
काठमाडौं- काठमाडौंको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा जलेर एक महिलाको शंकास्पद मृत्यु भएको छ ।
मृत्यु हुनेमा २३ वर्षीया युवती रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताएका छन्। उनका अनुसार होटलको कोठामा जलेकी महिलाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।
युवतीलाई सुरुमा वीर अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पतालमा लगिएको थियो। अस्पतालमै मंगलबार बिहान युवतीको मृत्यु भएको हो।
महिलाको मृत्युबारे छानबिन गर्न प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा होटलका कर्मचारी पवनकुमार श्रेष्ठ र महिलासँगै होटलमा बस्न गएका उनका प्रेमी भनिएका केशव रिजाल रहेको मैनालीले बताएका छन् ।
महिला होटलमा जलेर गम्भीर घाइते भए पनि होटलले प्रहरीलाई खबर गरेको थिएन । प्रहरीले अस्पतालबाट जानकारी पाएको थियो । त्यसैले घट्ना शंकास्पद रहेको उनले बताएका छन्।
‘घटना शंकास्पद देखिन्छ। घट्ना सोमबार नै भएको रहेछ उहाँहरु(होटलवाला) ले हामीलाइ खबर गर्नुभएन हामीले अस्पतालबाट थाहा पाएका हौं,’ उनी भन्छन्, ‘महिलाको कसरी जलेर मृत्यु भयो भन्नेबारे थप अनुसन्धान भइरहेको छ।’
यद्यपि अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार महिलालाई पेट्रोल छर्किएर आगो लगाएको हुनसक्ने अनुमान छ।
जलेर मृत्यु भएकी उक्त महिला र पक्राउ परेका केशव रिजालसँगै होटलमा पुगेका थिए। उनीहरु होटलमा पुगेको केही समयमै घट्ना भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।
मैनालीका अनुसार घट्ना शंकास्पद रहेको र पक्राउ परेका दुवैलाई ५ दिन म्याद थप गरी थप छानबिन भइरहेको बताएका छन् ।