
पाेखरा- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज साँझ पोखरा रंगशालामा हुँदै छ। प्रतियोगिता भव्य हुने बताउँदै आएका राष्ट्रिय खेलकुद परिषद(राखेप) का सदस्यसचिव टंकलाल घिसिङलाई औपचारिक प्रतियोगिता अघि नै झट्का लागेको छ।
प्रतियोगिताको पहिलो खेलका रूपमा काठमाडौँमा सम्पन्न भएको पुरुष क्रिकेट देखिको असन्तुष्टि र विवाद पोखरामा पनि जारी छ। प्रतियोगिता सुरु हुनुअघि नै देखिएका केही विवाद र असन्तुष्टिका श्रृंखला यस्ता छन्।
पुरुष क्रिकेट नखेलेरै बाहिरिँदा गुनासो
निरन्तर वर्षा भएपछि पुरुष क्रिकेट नखेलेर नै बागमती प्रदेश र एपिएफ प्रतियोगिताबाट बाहिरिए। वर्षाले प्रतियोगिता विथोलिए पनि पुन: तालिका गर्ने पर्याप्त समय थियो।
तर, राष्ट्रिय खेलकुद परिषदले चाहेन। जसका कारण उपाधि दाबेदार एपिएफ र बागमती समूह बीमा एउटा पनि खेल नखेलेरै प्रतियोगिताबाट बाहिरिए। जसको दुबै टिमले आलोचना गरे।
प्रतियोगिता पुन: गराउन माग गरे। तर, नेपाल क्रिकेट संघ (क्यान) र राखेपले उनीहरुको माग सम्बोधन गरेनन्। अधिकांश खेल भएन। केही भएका खेल पनि ओभर घटाएर सम्पन्न गरिएको थियो।
हक्कीमा मैदान र जर्सी अभावले देखिएको रमिता
काठमाडौँमा पानीले क्रिकेट बिथोले पनि पोखरामा भने भद्रगोल व्यवस्थापनले अस्तव्यस्त देखिन्छ। बिहीबार बिहानैदेखि महिला र पुरुष हक्कीका खेल तालिका थियो। तर, मैदानमा घाँस काट्ने क्रम नसकिँदा तोकिएको समयमा खेलहरू हुन पाएन।
पुरुषतर्फको खेलका लागि मैदान तयार नहुँदा अन्योलता थियो भने महिलातर्फ खेलाडीले मैदानमा उत्रिने जर्सी अभाव थियो। खेल सामग्रीको अभाव पनि उत्तिकै देखिन्थ्यो।

पाेखरामा आयाेजित नवाैँ राष्ट्रिय खेलकुदअन्तर्गत हक्की खेल्दै ।
त्यसो त मैदानको तय नै अनिश्चित हुँदा व्यवस्थापन भद्रगोल भएको हक्की संघको दाबी छ। उनीहरूले एक महिलाअघि नै मैदानको टुङ्गो लगाइदिन आग्रह गरेका थिए।
तर, मैदान भने खेल हुने दिनसम्म तयार भएन। संघले मैदान तय भएपछि स्तरोन्नति गर्न दिएको ठेकेदार नै मैदानको अवस्था देखेर सम्पर्कविहीन भयो।
स्थानीय वडासँग समन्वय गरेर गौरीशंकर खेल मैदानमा संघले बिहीबार बिहानसम्म घाँस काटेको थियो। मैदानको समय एकातिर रहँदा मैदानमा खेलाडीको समन्वय पनि मिलेको देखिएन।

नवाैँ राष्ट्रिय खेलकुदका लागि तयार पारिएकाे पाेखरा रङ्गशाला।
प्रदेश एक र गण्डकीबीचको खेलमा प्रदेश एकका खेलाडीले आफ्नो प्रदेशको जर्सी समयमा नपाउँदा पुरुष टिमको जर्सी लगाएर मैदानमा उत्रिएका थिए। झारा टार्ने उद्देश्यसहित बिहीबार बेलुकासम्ममा केही खेल सम्पन्न भएका थिए।
पदक आइनपुग्दा खेलाडीकै घाँटीबाट फुकालियो
त्यसो त उद्घाटनअघि सुरु भएका सीमित प्रतियोगिताकै व्यवस्थापन भद्रगोल भएको अर्को प्रमाण फेन्सिङमा खेलाडीले लगाएको पदक फिर्ता गरेको घटना पनि हो।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङमा खेलाडीले लगाएको पदक मन्त्री आएपछि विजेतालाई दिन पदक नहुँदा अघिल्लो इभेन्टको विजयी खेलाडीको पदक फिर्ता गरेर नयाँ विजेतालाई लगाइएको थियो। पदक समयमा नै आइनपुग्दा मन्त्रीका अगाडि नै विजेता खेलाडीको पदक सापटी चलाइएको थियो।
फुटबलमा प्रोटेस्ट
अन्य खेलमा विवाद भएजस्तै फुटबलको टिम इभेन्टमा पनि विवाद देखियो। मुख्य गरेर राष्ट्रिय खेलाडीको सहभागिताको विषय अनिश्चित बनेको थियो।
प्रदेश एकबाट सहभागी हुन खोजेका केही राष्ट्रिय खेलाडी फुर्सदका बाबजुत अभ्यासमा उपस्थित नभएको भन्दै प्रदेश एकले टिममा सहभागी गराएन्, जसका कारण राष्ट्रिय खेलाडीको यो प्रतियोगिता अनिश्चित थियो।

पाेखरामा आयाेजित नवाैँ राष्ट्रिय खेलकुद अन्तर्गत फुटबल खेल्दै।
यस्तोमा एनआरएनए खेलाडीको खोजीमा थियो। तर, एनआरएनएले कुनै पनि खेलाडी सहभागी गराउँदा कम्तीमा विदेशमा १ सय ८० दिन बसेको हुनु पर्ने व्यवस्थाको धज्जी उडाँउँदै राष्ट्रिय खेलाडीलाई टिममा सहभागी गरायो। जसलाई राखेपले पनि स्वीकृति दियो।
प्रदेश एक र एनआरएनएबीच तय भएको खेल नियमविपरीत खेलाडी सहभागी गराएको भन्दै समयमा नै हुन सकेन। तर, प्रदेश एकलाई प्रोटेस्ट हाल्ने अधिकार रहेको भनेपछि खेल सुरु भएको थियो।
जहाँ प्रदेश एक २-० ले पराजित भयो। लगत्तै उसले राखेपमा उजुरी गर्याे। अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, सन्जोग राई, विमल घर्ती मगर, विशाल राई, निशान खड्का, अशोक खवासको नाममा आपत्ति जनाउँदै प्रदेश एकले उजुरी गरेको हो।
थप तस्बिरहरू: