
पोखरा – ‘मैले ८० मिटर पार गरेपछि जित्छु भन्ने ढुक्क थिँए। त्यसपछिको केही सकेन्ड मेरो लागि सर्वाधिक महत्वपूर्ण थियो,’ पुरुष एक सय मिटर ‘स्प्रिन्टमा’ स्वर्ण जितेपछि उत्साही देखिएका शिवराज पार्कीले थपे, ‘मेरो लागि यो सब उपलब्धिका पछाडि दाजु गोपीचन्द्र पार्कीको हात र सहयोग छ।’
नेपाल एपीएफ क्लबका लागि स्वर्ण जित्दै गर्दा पार्कीले १०.५६ सेकेन्डको समय निकाले। उनलाई पछ्याएका आर्मीका युवराज विक १०.५८ सेकेन्डको समय निकाल्दै दोस्रो बन्दा आर्मीकै डिल्ली भण्डारी १०.७० सेकेन्डको समयका साथ तेस्रो बने।
दाजुभाइकै एथ्लेटिक्समा दबदबा
शिवराज पार्की दाजु दौडिएको देखेरै एथ्लेटिक्स ट्र्याकमा दौडन सुरु गरेका थिए। उनले नवौं राष्ट्रियक खेलकुदको स्वर्ण चुमेसँगै दाजु गोपीचन्द्रको खुट्टा ढोग्दै उपलब्धिमा भावुक बने। उनले आफ्नो उपलब्धि दाजुकै कारण सम्भव भएको बताए।
त्यसो त गोपीचन्द्र पार्की नेपाली एथ्लेटिक्सका सफल खेलाडीको शीर्ष दर्जामा पर्छन्। गोपीचन्द्र पार्कीको सबैभन्दा ठूलो उपलब्धि भनेको १३ औँ दक्षिण एसियाली खेलकुदमा ५ हजार मिटरतर्फ स्वर्ण जित्नु हो।
पार्की परिवारका पाँच जना दाजुभाइमा कान्छा सदस्य ३० वर्षीय शिवराजले पहिलो पटक एक सय मिटरमा स्वर्ण जित्दा आफ्नो ‘स्प्रिन्टमा’मा झर्ने निर्णय सही भएको बताए। उनले भने, ‘यसअघि मैले ४०० मिटरमा प्रतिस्पर्धा गर्थेँ तर मैले जति म्यानेज गरे पनि अन्तिम ५० मिटरमा लय बिग्रता उपविजेता मात्र भएँ।’
तर ६ महिनाअघि भने उनले एथ्लेटिक्समा विश्वकै सर्वाधिक लोकप्रिय विधाका रुपमा रहेको १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने निर्णय गर्दै सोहीअनुसारको तयारी गरेको बताए।
पार्कीले भने, ‘मैले स्प्रिन्टमा झर्दै गर्दा आफ्नो क्षमता सय मिटरमा नै रहेको महसुस गरेँ, मेरो ‘इन्डोरेन्स’ पावर थियो। तर त्यसको प्रयोग लङ डिस्टेन्स रेसमा प्रयोग गर्न सकिन्। जसले गर्दा मैले स्प्रिन्टमा नै उपलब्धि हासिल गर्छु भन्ने थियो।’
अन्तर्राष्ट्रिय मेडलका लागि वैदेशिक ट्रेनिङ
पार्कीले जितपछि एक सय मिटरमा अन्तर्राष्ट्रिय सफलताका लागि ठूलो तयारी गर्नुपर्ने बताए। उनले भने, ‘यहाँको तयारीले अन्तर्राष्ट्रिय पदक ल्याउन सकिँदैन। त्यसका लागि वैदेशिक ट्रेनिङ र सोहीअनुसारको डाइट खाएर अभ्यास गर्नुपर्छ।’
शिवराजले आफूलाई यति समयमा स्वर्ण जित्न सकिन्छ भनेर टाइमसहित अभ्यासको राम्रो अवसर दिए अन्तर्राष्ट्रिय मेडल जित्न सक्ने बताए।
उनले भने, ‘सबै सुविधासहित टाइमिङसहित अन्तर्राष्ट्रिय प्रशिक्षण र डाइटको व्यवस्था भए उपलब्धि हासिल गर्न सकिन्छ। अन्यथा राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य मात्र कायम रहन्छ।’