पोखरा – नवौं राष्ट्रिय खेलकुदमा विभागीय टिमको वर्चस्व छ। अझ पौडीमा विभागीयबाहेक बिरलै मात्र अरुले पदक भित्र्याउँछन्। यसमा पनि अन्तर्राष्ट्रिय स्तरमा नै अभ्यास गराएर पदककै लागि प्रतिस्पर्धा गर्नेका बीचमा प्रदेश स्तरीय अभ्यासबाट पौडीमा सहभागितामै सीमित हुन्छ।
नेपालमा पनि काठमाडौँ केन्द्रित मानिने पौडीमा प्रदेश एकबाट सहभागी उपासना राईले पौडीमा आफ्ना सम्भावनाहरु भने छोडेर गएकी छन्।
१५ वर्षीया उपासनाले २०० मिटर ब्याकस्ट्रोकमा काश्य पदक जितिन्। स्वर्णका भीडमा काश्यको महत्व उपासनलाई जति अरुलाई हुनेछैन। उनी भन्छिन्, ‘मैले सीमित स्रोत साधनमा गरेको प्रयासले एउटा पदक जित्न सफल भएको छु। आगामी दिनमा स्वर्णका लागि प्रयास गर्छु।’
उपासनाले प्रदेश एकको छनोटपछि निरन्तर अभ्यास गर्दै आएकी छन्। गुरू इन्द्रराज भण्डारीले उनलाई पौडीमा पदकसम्म पुर्याए। उपासनाका बुबा भुपाल राई छोरीको प्रदर्शनबाट खुसी भएका छन्।
उनले भने, ‘हामीलाई त पदक जितिन्छ भन्ने अपेक्षा थिएन। तर उनले आफ्नो स्पर्धामा राम्रो प्रदर्शन गरिन्। आगामी दिनमा उनको अभ्यासका लागि थप मिहिनेत गर्नेछौँ।’
त्यसो त उनले अहिले पनि छोरीको तयारीका लागि विराटनगरमा सकेको प्रयास गरेको बताए। उनले भने, ‘यहाँ सीमित स्रोतसाधनमा अभ्यास गराउनु पर्छ। अन्तर्राष्ट्रिय अभ्यास गरेर प्रतियोगितामा सहभागिता जनाएकासँग प्रतिस्पर्धा गर्नुपर्छ। त्यसैले स्वभाविक रुपमा मुस्किल पर्छ।’ उनले आगामी दिनमा उनलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि तयार गर्न प्रयास गर्ने बताए।
भुपालले भने, ‘अहिले थौरै तयारीले यो उपलब्धी हासिल भएको छ। आगामी दिनमा अन्तर्राष्ट्रिय अभ्यासका लागि समेत प्रयास गर्नेछु। यदी उनले राम्रो गरेको खण्डमा समग्र देशका लागिनै गर्वको कुरा हुनेछ।’
उनले राष्ट्रिय स्तरका प्रतियोगिताहरु नियमित नहुँदा पनि समस्या हुने गरेको बताए। प्रतियोगिता हरेक दुई वर्षमा हुने हो भने सोहीअनुसारको तयारी हुने पनि जनाए। उनले प्रतियोगिताको अनिश्चितताले राम्रा खेलाडीले खेल्न नपाइ करियर गुमाउनु परिरहेको बताए।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































