पोखरा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार औपचारिक समापन गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिताको समापन गरेका हुन्।
नवौं राष्ट्रिय खेलकुदको समापनसँगै अब दशौँ राष्ट्रिय खेलकुदको जिम्मेवारी कर्णाली प्रदेशलाई दिइएको छ। कर्णालीमा २०८१ को मंसिर २ देखि ९ गतेसम्म आयोजना गरिने तय भएको छ।
२०७८ को वैशाखमा आयोजना हुनुपर्ने प्रतियोगिता विभिन्न कारणले गर्दा निर्धारित समयभन्दा डेढ वर्ष ढिला सम्पन्न भएको हो। पर्यटकीय नगरी पोखरामा सम्पन्न प्रतियोगितामा खेलाडीले पूर्वाधारमा अभाव महसुस गर्नु परेन तर व्यवस्थापकीय कमजोरीका कारण राष्ट्रिय खेलकुदको महत्व भने कमजोर बनेको थियो।
प्रतियोगिताको कमजोर उद्घाटनबाट सुरु भएको खेलमा खेलाडीले भने आफ्नो लगाव र मिहिनेतको प्रतिफल प्राप्त गर्दा खुशी देखिन्थे। कतिपय खेलाडीहरु समयमा नै खेलस्थल आउनका लागि संघर्ष गर्नु परेको थियो। खेलाडी तथा अफिसियलहरुले व्यवस्थापकीय कमजोरीका बाबजुत प्रतियोगिता सफल बनाउन उल्लेख्य भूमिका खेलेका थिए।
केही खेलमा विवाद भए पनि समग्रमा भने प्रतियोगिता गण्डकीले सफलतापूर्वक आयोजना गरेको हो। ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको प्रतियोगितालाई उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए। समापनमा दशौँ संस्करणको राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिएको थियो।
समापनका दौरान त्रिभुवन आर्मी क्लबलाई ट्रफी हस्तान्तरण गरिएको थियो। पहिलो पटक राष्ट्रिय खेलकुदको टिम च्याम्पियनका लागि ट्रफी निर्माण गरिएको हो।
समापनका दौरान सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए। नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यो पटक ४ सय ३ इभेन्टमा प्रतिस्पर्धा हुने भनिए पनि कुल ३६ खेलका ३ सय ९६ इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































