
काठमाडौँ- बाराको त्रिवेणी स्पिनिङ मिल्समा बिहीबार प्रहरी र मजदुरबीच झडप हुँदा प्रहरी नायब उपरीक्षकसहित १० जना घाइते भएका छन् ।
झडप नियन्त्रण गर्न प्रहरीले एक राउण्ड हवाई फायर गर्नुको साथै ३४ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । तर म्याद गुज्रिएको अश्रुग्यासको प्रयोगका कारण प्रहरीले धेरै क्षति भोग्नुपरेको छ।
अश्रुग्यासको म्याद गुज्रिएको जानकारी आफूले पाएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताएका छन्।
‘अश्रुग्यासको म्याद गुज्रिएको भन्ने जानकारी हामीले पनि पाएका छौं,’ उनी भन्छन्, ‘म्याद गुज्रिएको अश्रुग्यासकै कारण प्रहरीलाई प्रदर्शन नियन्त्रणमा लिन समस्या भएको थियो।’
उनका अनुसार सन् २०१२/१३ तिरै अश्रुग्यासको म्याद गुज्रिएको पाइएको छ। प्रहरी प्रधान कार्यालयमा जानकारी गराएर नयाँ मगाउन भनिसकेको उनले बताएका छन्।
दशैं तिहारको बोनस दिनुपर्ने माग राखेर त्रिवेणी स्पिनिङ उद्योगका मजदुर बुधबारदेखि आन्दोलित थिए । बुधबार रातिसम्म व्यवस्थापन पक्षसँग भएको वार्ता निष्कर्षविहीन भएको थियो ।
त्यसपछि मजदुरहरुले महाप्रबन्धकको कोठामा उद्योगका प्रमुख कार्यकारी अधिकृत अशोक शर्मासहित व्यवस्थापनतर्फका ५ जना र ८ जना कर्मचारीसहित १३ जनालाई थुनेर राखेका थिए । उनीहरुलाई उद्दार गर्ने क्रममा प्रहरी र मजदुरबीच झडप भएको थियो ।
झडपको क्रममा केही मजदुरसमेत घाइते भएका थिए। हाल अवस्था साममान्य रहेको कटुवालले बताएका छन्।