काठमाडौँ – आइतबारबाट सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ। समूह ‘बी’ अन्तर्गत मूलपानी मैदानमा भएको खेलमा पुलिसले बागमती प्रदेशलाई १ सय ९२ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
कप्तान दीपेन्द्र सिंह ऐरीको १ सय ८ रनको सानदार शतकीय इनिङमा पुलिसले बागमतीसामु निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९० रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा बागमती २८ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटियो।
टस हारेर पहिले ब्याटिङ गरेको पुलिसका लागि ओपनर सुनिल धमला र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए। धमला ३७ रनमा आउट हुँदा भुर्तेलले पनि ३७ रननै बनाए।
त्यस्तै दीपेन्द्र सिंह ऐरीले ८२ बलमा १ सय ८ रन बनाउँदा ११ चौका र ४ छक्का प्रहार गरेका थिए। दीपेन्द्र र आरिफ शेखले चौथो विकेटको लागि १ सय ३६ रनको साझेदारी गरेका थिए। आरिफ ३६ रन बनाएर आउट हुँदा दिलिप नाथ १२ र पवन सर्राफ १५ रनमा अविजित रहे। बागमतीका नन्दन यादवले २ विकेट लिँदा रामनरेश गिरी, सूर्य तामाङ र सोनु देवकोटाले समान १-१ विकेट लिएका थिए।
२ सय ९० रनको लक्ष्य पछ्याएको बागमती भने खराब प्रदर्शनको सिकार भयो। उसका लागि ईशान पाण्डेले २४ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै रामनरेश गिरी २२ रनमा अविजित रहँदा नन्दन यादवले १० रन बनाएका थिए। त्यस्तै थप दोहोरो स्कोरका रुपमा प्रतिश जिसीको १४ रन रह्यो।
कप्तान ज्ञानेन्द्र मल्ल ४ रनमै पेभिलियन फर्किएका थिए। बागमतीका पृथु बाँस्कोटा एबसेन्ट हर्ट (चोटका कारण क्रिजमै आउन नसक्नु) भएका थिए।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































