
काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुदको समापनसँगै १० औँ राष्ट्रिय खेलकुदको जिम्मेवारी कर्णाली प्रदेशले प्राप्त गर्यो। पर्याप्त भौतिक सुविधाका बाबजुत व्यवस्थापनमा कमजोर बनेको भन्दै आलोचित बनेको नवौँ राष्ट्रिय खेलकुदपछि भौतिक पूर्वाधारमा कमजोर कर्णालीका लागि १० औँ जति अवसर हो त्यो भन्दा ठूलो चुनौती बन्ने पक्का छ।
कर्णालीले उत्साहका साथ २०८१ को मंसिर २ बाट प्रतियोगिताको मितिसहित झन्डा लिँदै गर्दा उसको उत्साहको आधार भने सुर्खेत रंगशालामा टिकेको छ। कर्णालीमा २ वर्षपछि हुने प्रतियोगिताका अधिकाश खेल सुर्खेतको वीरेन्द्रनगरमै केन्द्रित हुनेछ। कर्णाली प्रदेशका सदस्यसचिव विश्वमित्र सञ्जेल कर्णालीले पाएको अवसर खेर जान नदिन सक्दो प्रयास गर्ने बताउँछन्।
उनी भन्छन्, ‘कर्णालीको खेलकुद विकासको कोसेढुङ्गाको रुपमा १० औँलाई लिएका छौँ। जसका लागि हामीले नवौँ राष्ट्रिय खेलकुद हुनुभन्दा अघिबाटै तयारी गरिरहेका छौँ।’
स्थानीय झाँकी र साँस्कृतिक नृत्यसहित १० औँलाई पोखरा रंगशालमा स्वागत गरेको कर्णालीका लागि एकमात्र होइन अनेकन चुनौती रहेका छन्। तर अहिलेबाटै १० औँलाई लक्ष्य बनाएर खेल पूर्वाधार र व्यवस्थापनमा अघि बढे सम्भव हुने सञ्जेल बताउँछन्। उनी भन्छन्, ‘कर्णालीमा राष्ट्रिय खेलकुद हुने भनेपछि स्वभाविक रुपमा अवसरलाई भन्दा बढी चुनौती धेरै छन्। तर हामीले पाएको यो मौकालाई सबैपक्ष मिलेर सदुपयोग गर्दै कर्णालीले पनि गर्न सक्छ भनेर देखाउनु पर्नेछ।’
१ अर्ब ७० करोडको बजेट, २५ प्रतिशत काम
कर्णालीका लागि सर्वाधिक ठूलो आशा भनेको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकामा बन्दै गरेको बहुदेशीय रंगशाला हो। १ अर्ब ७० करोड लागतमा बन्दै गरेको रंगशालाको अहिलेसम्म २५ प्रतिशत काम सम्पन्न भएको छ। तर अझै ७५ प्रतिशत काम बाँकी छ। यसको अर्थ धमाधम काम भएमात्र तोकिएको समयमा राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाका लागि रंगशाला तयार हुनेछ। रंगशाला २०८१ को जेठमा तयार भइसक्नु पर्नेछ।
यसवर्षको रंगशाला निर्माणका लागि ६० करोड बजेट विनियोजन भएको छ। गत वर्ष पनि बजेट प्राप्त भएको थियो। सदस्यसचिव सञ्जेल भन्छन्, ‘अहिलेसम्म बजेटका कारण रंगशाला निर्माण रोकिएको छैन। यही गतिमा काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न हुन्छ।’
रंगशाला बहुउदेश्य हुनेछ। जहाँ एथ्लेटिक्स ट्र्याक, १० हजार दर्शक क्षमताको प्यारापिट, बहुउद्देश्य कर्भड हल, सर्ट कोर्स, पौडी पोखरी, ह्यान्डबल कोर्टलगायत संरचनाहरू रंगशाला हातामा निर्माणाधिन छन्। ९ विगाहा क्षेत्रफलमा रहेको रंगशालाको सपोर्टका रुपमा चिसापानीमा अर्को वैकल्पिक रंगशाला पनि तयार हुँदैछ। चिसापानीको रंगशाला तयारी र अभ्यासका लागि प्रयोग गर्ने लक्ष्य रहेको छ।
भौतिक पूर्वाधारसँगै पदक पनि धेरै जित्ने लक्ष्य
भौतिक पूर्वाधारको तयारीसँगै १० औँ राष्ट्रिय खेलकुदमा कर्णालीको अर्को एउटा आशा पनि छ। कर्णाली आफ्नो घरेलु प्रदेशमा आयोजना हुने प्रतियोगितामा जतिसक्दो धेरै पदक जित्न चाहन्छ। एकपछि अर्का अल्ट्रा र एथ्लेटिक्स खेलाडी उत्पादन गर्दै आएका धावक हरिबहादुर रोकाया कर्णालीले पाउने अवसरमा कर्णालीले नै बढी फाइदा उठाउनु पर्ने बताउँछन्।
उनी भन्छन्, ‘हामीले नवौँ राष्ट्रिय खेलकुदमा पनि अघिल्लो संस्करणमा भन्दा बढी खेल र खेलाडीलाई सहभागी गरायौँ। खेलाडी सहभागिताको हिसाबले कर्णाली प्रदेशले उत्साहजनक फड्को मारेको छ। अब पदक जित्ने स्तरको तयारी गर्न सके हामी पनि प्रतिस्पर्धामा आउने छौँ।’
त्यसो त कर्णालीमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुदमा अल्ट्रा म्याराथन पनि सहभागि गराउन सके त्यसको फाइदा घरेलु प्रदेशले लिन सक्ने रोकायाको विश्वास छ। ‘हामी मिहिनेत गरेर खेलाडी तयार पार्छौँ। तर अवसरको खोजीमा खेलाडीलाई हामीले सधैँ खलिरहु भन्न पनि सक्दैनौँ। अनि जसले अवसर दिन्छ, त्यहाँबाटै खेलाडीले प्रतिस्पर्धा गर्छ।’
उनले कर्णालीले घरेलु शहरमा आयोजना हुने प्रतियोगितामा त्यसको फाइदा उठाउनका लागि साहसिक खेलका विधाहरु थप गर्नुपर्ने बताए। उनले भने, ‘कर्णालीका लागि साहसिक खेलहरु पनि उतिकै जरुरी छ। अहिले प्रदर्शनीका रुपमा मात्र भएका खेलहरुलाई प्रवर्द्धन गर्दै प्रतियोगितात्मक खेलका रुपमानै विकास गर्नसके त्यसको फाइदा खेलाडीले लिनेछन्।’