
काठमाडौँ – नाबालिकमाथि बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले पुर्पक्षका लागि धुनामा पठाएको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासले शुक्रबार थुनछेक बहसपछि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् ।
‘उहाँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जिल्ला अदालतबाट भयो’, सन्दीपका वकिल मुरारी सापकोटाले जानकारी दिए । जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले पनि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको बताए ।
गएको असोज २० गते पक्राउ परेका सन्दीपलाई १० देखि १२ वर्षको कैद सजाय हुनु पर्ने माग दाबीसहित जिल्ला अदालतमा रिट दायर भएको थियो । पुर्पक्षका लागि थुनामा गएसँगै लामिछाने मुद्धाको अन्तिम टुंगो नलागेसम्म हिरासतमै रहने भएका छन् ।
उनीमाथि किशोरीलाई बलात्कार गरेको आरोप छ । सो आरोप सन्दीपले अस्वीकार गर्दै आएका छन् । सन्दीपका वकिलले आरोप लगाउने किशोरी नाबालिक नरहेको दाबी गरेका छन् ।