काठमाडाैँ – नेपाली क्रिकेटमा छोटो समयमै आफ्नो उम्दा छवि देखाउन सफल लेग स्पिनर सन्दीप लामिछाने अन्ततः पुर्पक्षका लागि जेल चलान भएका छन्।
जिल्ला अदालत काठमाडौँले २२ वर्षीय सन्दीप लामिछानेलाई बलात्कार अभियोगमा जेलभित्रै रहेर मुद्दा लड्ने गरी शुक्रबार फैसला गरेको हो।
सन्दीप करिअरको उच्च लयमा रहिरहँदा बलात्कार आरोप लागेपछि २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।
जिल्ला अदालत काठमाडौँले उनलाई शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने फैसला गरेसँगै सन्दीपको उम्दा क्रिकेट करिअर ‘अवसान’ उन्मुख भएको छ। अब उनको मुद्दाको अन्तिम किनारा नलाग्दासम्म केन्द्रीय कारागार सुन्धारामा राखिनेछ।
छोटो समयमै क्रिकेटमा चम्किएका सन्दीप
सन् २००० को अगस्ट २ मा स्याङ्जामा जन्मिएका हुन्। उनी चितवन झरेसँगै किशोर अवस्थामै क्रिकेटमा लोकप्रिय बने। तत्कालीन प्रशिक्षक पुवुदु दशानायकीले उनको क्षमता पहिचान गर्दै २०१६ मै लिस्ट ए मा नेपालकोतर्फबाट औपचारिक डेब्यु गराएका थिए।
त्यसअघि नै उनले २०१५ एमसीसी स्क्वाडमा १५ वर्षको उमेरमै खेल्दै विकेट लिएका थिए। उनले हङकङ टी–२० ब्लिजमा २०१६ मा खेले। त्यहाँ उनी माइकल क्लार्कको नजरमा परे। त्यसपछि उनलाई अस्ट्रेलियामा क्लार्कले स्थानीय क्लबमा क्रिकेट सिक्ने अवसर दिएका थिए।
उनले अन्डर १९ विश्वकपका दौरान २०१६ मा प्रतिस्पर्धा गर्दा ६ खेलमा १४ विकेट लिएर सनसनीपूर्ण प्रदर्शन गरे। त्यसपछि उनले कीर्तिपुर मैदानमा २०१६ को अप्रिल १६ मा डब्लुसिएअन्तर्गत भएको खेलमा एकदिवसीय क्रिकेटमा राष्ट्रिय टिमबाट डेब्यु गरे। त्यसयता उनले पछि फर्किएर हेर्नुपरेको छैन। पछिल्लो पटक उनले १७ जुलाईमा स्कटल्यान्डविरुद्ध खेलेका थिए।
विश्वभरको फ्रेन्चाइजको आँखामा सन्दीप
राष्ट्रिय टिममा गरेको उम्दा प्रदर्शनका कारण किशोर अवस्थामै सन्दीपले विश्वचर्चित इन्डियन प्रिमियर लिगमा अवसर पाए। त्यसपछि उनले विश्वका चर्चित सबैजसो टी–२० फ्रेन्चाइज लिगमा प्रतिस्पर्धा गरे। सन्दीपले पहिलो पटक २०१८ को १२ मेमा इन्डियन प्रिमियर लिगअन्तर्गत तत्कालीन दिल्ली डेयरडेभिल्समा डेब्यु गरेका थिए।
उनले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) विरुद्ध डेब्यु गर्दै पार्थिव पटेलको विकेट लिए। त्यसपछि उनको चर्चा उत्कर्षमा पुग्यो। सन्दीपले दिल्लीसहित, हरवर्ट हुरिक्यान्स, केरला नाइट्स, लाहोर क्वालेन्डर्स, मोनट्रेला टाइगर्स,
सिलेट सिक्सर्स, ननगरहार लियोपार्डस, ओभ इन्भिसिब्लस, टोरन्टो नेसन्स, बारबाडोस ट्रिडेन्ट्स, जमैका तलवाह, कोलन कान्टोन्स, मेलवर्न स्टार, सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट अन्तर्राष्ट्रिय फ्रेन्चाइज खेल्दा नेपाली राष्ट्रिय टिम र अन्डर १९ टिमका साथमा नेपालका घरेलु लिग नेपाल ११, ललितपुर प्याट्रियटस, विराटनगर टाइटन्सबाटसमेत खेलेका छन्।
सन्दीपले करिअरमा बनाएका रेकर्ड
लेग स्पिनर लामिछानेले क्रिकेट करिअरको छोटो समयमै धेरै रेकर्ड आफ्नो नाममा बनाए। उनले बनाएका केही रेकर्ड
लगातार ३ खेलमा ४ भन्दा बढी विकेटः
एकदिवसीय क्रिकेटमा लगातार ३ खेलमा ४ भन्दा बढी विकेट लिने कीर्तिमान बनाए। उनले कीर्तिपुरमा अमेरिकाविरुद्ध १६ रन दिएर ६ विकेट, पिएनजीविरुद्ध ३५ रन दिएर ४ विकेट तथा पिएनजीविरुद्ध नै ११ रन दिएर ६ विकेट लिँदै लगातार तीन खेलमा ४ भन्दा बढी विकेट लिने कीर्तिमान बनाएका थिए।
बेस्ट करिअर स्ट्राइक रेटः
त्यस्तै, सन्दीपले २०१८ देखि २०२२ सम्म ४४ खेल खेल्दै ८५ विकेट लिए। जहाँ उनले ६.४० को इकोनोमिममा ११.७ को स्ट्राइक रेटमा बलिङ गर्दै नम्बर एक बलरका रुपमा शीर्ष स्थानमा कायम छन्।
चाँडो ५० विकेटः
सन्दीप लामिछानेले सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने खेलाडीको विश्वमा तेस्रो नम्बरमा रहे। उनले २९ खेलमा ५० विकेट पूरा गरेका थिए। उनीभन्दा अगाडि श्रीलंकाका अजन्था मेन्डिसले २६ इनिङ र आयरल्यान्डका मार्क अडैरले २८ इनिङमा ५० विकेट लिएका थिए।
एकै इनिङमा धेरै मेडनः
उनले टी–२० अन्तर्राष्ट्रियमा २ मेडन फाल्दै अर्को रेकर्ड बनाएका थिए। त्यस्तै सन्दीपले एलबि डब्लुमा सर्वाधिक १२ विकेट लिँदै एल्बी डब्लुमा सर्वाधिक विकेट लिने खेलाडीको छैटौं नम्बरमा आफूलाई राखे।
सर्वाधिक युवा कप्तान
सन्दीप एकदिवसीयमा कप्तान गर्ने सर्वाधिक युवा कप्तानको छैटौं नम्बरमा रहे। उनले २१ वर्ष २ सय २६ दिनमा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए। साथै, उनी टी–२० मा कप्तानी सम्हाल्ने १० औँ युवा कप्तान बनेका थिए।
बलात्कार आरोपदेखि जेल यात्रासम्म टाइम लाइन
२१ भदौः एक किशोरीद्वारा सन्दीप लामिछानेले ५ भदौमा बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी (सन्दीपसहित नेपाली क्रिकेट टोली ६ भदौमा केन्यासँगको मैत्रीपूर्ण खेलका लागि प्रस्थान गरेका थिए)
२३ भदौः प्रहरीद्वारा सन्दीपलाई अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ पुर्जी जारी। राष्ट्रिय टिमको कप्तानबाट पनि निलम्बित
२४ भदौः समाजिक सञ्जाल फेसबुकमा पहिलो स्टाटस लेख्दै आफूलाई फसाइएको र त्यसविरुद्ध कानुनी लडाइँ लड्ने बताएका थिए। उनले सिपिएल छाडेर केही दिनमा स्वदेश फर्किने उल्लेख गरेका थिए।
९ असोजः आफू मानसिक रूपमा अस्वस्थ रहेको भन्दै आफूलाई आइसोलेसनमा राखेको र आफू गम्भीर षड्यन्त्रको सिकार भएको उल्लेख गर्दै नेपाल फर्किने तरखरमा रहेको सामाजिक सञ्जालमार्फत जानकारी
१० असोजः सन्दीप लामिछानेविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी
१५ असोजः आफू २० असोजमा नेपाल फर्किन लागेको सामाजिक सञ्जालबाट जानकारी, साथै उनी आफू निर्दोष रहेको पुनः जिकिर
२० असोजः बलात्कार आरोप लागेको करिब एक महिनापछि कतार एयरवेजको विमानमार्फत स्वदेश फिर्ता, एयरपोर्टबाटै प्रहरीद्वारा पक्राउ
२४ असोजः सार्वजनिक बिदाका कारण २४ असोजमा पहिलो पटक अदालत उपस्थित, सुरुमा ७ दिन हिरासतमा राख्न अनुमति
२७ असोजः अदालतले पहिलो पटक दिएको ७ दिनको समय–सीमा सकिएपछि दोस्रो पटक ५ दिनको म्याद थप
२ कात्तिकः १ कात्तिकमा अदालतमा उपसिथत गराउनुपर्नेमा सार्वजनिक बिदाका कारण २ कात्तिकमा अदालतमा उपस्थित पुनः ४ दिनको म्याद थप
४ कात्तिकः पुलिसद्वारा अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन प्रस्तुत। बिदाका कारण मुद्दा दायर गर्न ढिलाइ।
१४ कात्तिकः सरकारी वकिलको कार्यालयले १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै अभियोग पत्र दर्ता
१५ कात्तिकः जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान
१६ र १७ कात्तिकः थुनछेक बहस
१८ कात्तिकः पुर्पक्षका लागि सन्दीपलाई जेल पठाउने फैसला, केन्द्रीय कारागार सुन्धारामा राखियो।

                                                                                                                    
                                            
                                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































